काठमाडौं ।  सरकारका तर्फबाट उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा राष्ट्रिय जनता पार्टी नेता र प्रमुख प्रतिपक्षी एमाले नेताहरुसँग छलफल गर्दै विराटनगर र वीरगन्ज महानगरपालिका बनाउने नयाँ प्रस्ताव राखेका हुन् । मधेसी मोर्चालाई मनाउन सरकारले ११ जिल्लामा स्थानीय तह थप्नेबारे गृहकार्य थाल्ने भएको छ ।

बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउनेबारे मधेसी मोर्चा र हाम्रो मिलेको बताए । विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउनुपर्ने माग आएकाले यसबारे पनि सरकारको ध्याना गएको मन्त्री थापाले बताए । मधेसका कुन कुन जिल्लामा स्थानीय तह कसरी थप्नुपर्ने हो भन्नेबारे मापदण्ड र प्राविधिक कार्य गर्न भन्दै थापाले बैठकमा उपस्थित मन्त्रालयका अधिकारीलार्इं दुई दिनको समय दिए ।

बैठकमा मन्त्री थापाले मधेसमा स्थानीय तहको संख्या थप्ने कुरा गर्दा उही आयोगको सिफारिसलाई आधार मानेको हो, त्यसैले तपाईंहरु संख्या थपिनेमा ढुक्क हुनुस् ।

बैठकमा उपप्रधानमन्त्री थापा, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, एमाले नेता अग्निप्रसाद खरेललगायत सहभागी थिए ।