शनिश्चरे/मोरङको पथरीशनिश्चरे १ स्थित धार्मिक पर्यटकीय क्षेत्र भूल्के जालपादेवी मन्दिर ४ पटक चोरी भइ असुरक्षित बनेको छ । पथरीको पूर्वी चोकको करिव आधा किलोमिटर उत्तर जंगलमा रहेको मन्दिरमा पछिल्लो पटक रातीको समयमा घण्टी, कलस, थाली, दियो, तामाका आरी सहितका २ क्विन्टल सामान चोरी भएको छ ।
जसको मुल्य करिव १ लाख रहेको छ ।जंगलमा रहेको मन्दिर भएकाले पूजारी राती त्यहाँ वस्न सम्भव नभएकाले चोरी हुने क्रम भइरहेको छ । ०६३ देखि सञ्चालित मन्दिरमा यसअघि ३ पटक यस्ता सामग्री चोरी भएको भएपनि यसपटक भनें सवैभन्दा धेरै सामग्री चोरी भएको मन्दिर समिति अध्यक्ष यमुना वास्तोलाले बताइन् ।
‘देवी उत्पत्ती भएकोस्थलका रुपमा विश्वास गरेर पूजाआजा गर्दै मन्दिर समेत बनाइयो । तर मन्दिर ज्यादै असुरक्षित भइ लगातार चोरी भइरहेको छ ।’
वास्तोलाले भनिन् । चोरीमा संलग्न कोही पनि फेला नपरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।यसअघि जीर्ण बनेको मन्दिरको सामान्यखाले कम्पाउण्ड भएपनि कम्पाउण्डमाथिबाट पसेर चोरी हुने गरेकोमा यसबेला कम्पाउण्ड समेत भत्काएर मन्दिर परिसरकै पुननिर्माण समेत भएकाले चोरी गर्न सहज बन्न पुग्यो ।
यसबेला, माटो पुराई गरी मन्दिर निर्माण, कम्पाउण्डवाल, शौचालय निर्माणको क्रममा रहेको छ । जसका लागि पर्यटन विभागको ३ लाख, सँस्कृति मन्त्रालयको २ लाख, राष्ट्यि प्रजातन्त्र पार्टीको सांसद क्षेत्र विकास कोषको डेढलाख रकममा स्थानीयबाट समेत सहयोग जुटाएर १० लाखको लागत अनुमानमा काम भइरहेको उल्लेख छ ।