कराकस/ भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् ।
पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । निजी क्षेत्रबाट प्रकाशित हुदै आएको एल युनिभर्सल नामक दैनिक पत्रिकाले कैदीहरु र सुरक्षा गार्डहरुका बीचमा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको जनाएको छ । मङ्गलबार दिउसो १ बजेदेखि बेलुका ६ बजे सम्म भिडन्त चलेको पत्रिकाले लेखेको छ । कैदीहरुले कारागार नै नियन्त्रणमा लिन खोजेपनि भिडन्त भएको बताइएको छ । कारागार भित्र रहेका इल बालु, इल यान र कासानोभा नामका कैदीहरुको समुहले कारागारमा हिंसा भड्काएको र उनीहरुको मृत्यु भएको पत्रिकाले जनाएको छ । भेनेजुएलाका कारागार मामिला मन्त्री आईरिस भारेलाले ९ जना गोली लागि मरेका्, दुई जना औषधीको अत्याधिक प्रयोग र एक जनाको कुटाईका कारण मृत्यु भएको जानकारी दिए । उनले अरु १० जना घाइतेलाई अदालतमा बुधबार देखिएको बताए । उनीहरुलाई कारागारमा हिंसा भड्काउन जिम्मेबार रहेको भन्दै अदालतमा लगिएको बताइएको छ । मन्त्री भरेलाले राष्ट्रपति निकोलास मदुरोकाविरुद्धमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले कैदीहरुलाई ५० हजार अमेरिकी डलर दिएर हिंसा भड्काउन उक्साएको आरोप लगाएका थिए । मदुरोविरुद्धमा विगत चार हप्तादेखि भईरहेको प्रदर्शनका क्रममा अहिले सम्म झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । प्रदर्शनकारीहरुले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् ।