पथरी / आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ ।

विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उनका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उनी भन्छन्, “श्रीमान्को मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।” उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा हुनुहुन्छ । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित छिन् । श्रीमान्को मृत्युपछि आफन्तले दुःख दिन थाले । आफनो घर ठेगाना बताउन नचाहने उनी कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको बताउछिन् । श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बिते । श्रीमान् बितेपछि उनी बेसहारा भइन् । उनिले आफन्तलाई सहयोग पनि गरिन् । तर आफूलाई पर्दा साथ दिने कोही नभएकामा उनी साह्रै दुःखी छन् । सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त देखिनुहुन्छ । उनी जन्मँदै यस्तै थिइन् । भकुमारी कान सुन्नुहुन्छ्, बोल्न भने सक्नुहुन्न । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै थिइन् । अहिले पनि उनको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०/५५ जतिको हो । उनका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ । शारीरिक अवस्था यस्तो भए पनि उनीजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउछिन् । आश्रमवरपर सफासुग्घर गर्छिन् । “उनलाई यस्तो अवस्थामा आफन्तले ल्याइदिए,” आश्रमका अध्यक्ष जगत अज्र्याल भन्छन्, “काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ ।” वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए । यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन् । उनीहरूका पनि आ–आफ्नै कथाव्यथा छन् । रासस