
शनिश्चरे / बोल्न बोली आउँदैन । मानसिक अवस्था पनि तन्दुरुस्त छैन । हिँडडुल गर्न पनि शरीरले त्यति राम्ररी साथ दिएको छैन । त्यस्तो कठिनाइको अवस्थामा उनैमाथि अझ ठूलो विपत्ती थपियो । जसले उनको जीवनलाई निकै अप्ठेरो मोडमा पुर्यायो । उनी ६ दिनअघि सुत्केरी भइन् । छोरी जन्मिइन् । तर छोरीलाई दुध चुसाउने समेत उनमा चेत छैन । आफन्तले भोजपुर तिम्मा ३ की २५ वर्षीय तीनै तामाङ युवतीले वच्चा जन्माएपछि परेको विपतलाई झापाको दमक ४ मा रहेको धिमालको गाइगोठमा बसेर टार्दै गरेको अवस्थामा दमकका समाजसेवीहरुले थाहा पाए ।
दमकस्थित मुगाधन–कृष्णकुमारी राई ट्रष्टकी अध्यक्ष झापा ७ की सांसद महेन्द्रकुमारी लिम्बूका साथै अन्तराष्ट्रिय अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टोली मंगलबार त्यहाँ पुगेर उनीहरुलाई गोठबाट उद्धार गरे । उद्धारपछि दमक गोर्खाली टोलमा रहेको ट्रष्टको कार्यालयमा तत्कालका लागि बस्ने वन्दोवस्त गरिएको छ । ‘गाइगोठबाट तत्काल उद्धार गरेर ल्याइयो । अब उनलाई यहाँ राखेर उनको अधिकारका लागि पहल गर्दै पुर्नस्थापित गर्न मद्धत गर्छाैं ।’– सांसद लिम्बूले भनिन् ।
तामाङले गत शुक्रबार दमकस्थित आम्दा अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिएकी थिइन् । गाउँकै एक युवाले जबरजस्ती करणी गर्दा गर्भ रह्यो । सोधखोज गर्दा गाउँका युवा भन्ने थाहा भएपनि उनले त्यो कर्तुत स्वीकार नगरी उल्टै धाकधम्की दिएपछि परिवार तनावमा रह्यो । अहिले भोजपुर घर जाने अवस्था नभएका कारण गोठमा राखिएको उनकी आमा सुमित्रा तामाङले विलौना गरिन् ।
छोरीमाथि जवरजस्ती गर्ने युवालाई पक्राउ गरिएपनि उसले स्वीकार नगरी उल्टै धाकधम्की दिएपछि त्रसित बनेर छोरीलाई लिएर आमा सुमित्रा एकसाता अघि दमक आफन्तकोमा आएकी थिइन् । ‘यही बेला छोरी जन्माइ । बस्ने ठाउँ नभएर गाउँगोठसँगै रहेको सानो ठाउँमा बस्दै थियौं । गोबर गन्हाएर र मच्छडले खाएर समस्या थियो ’– सुमित्राले भनिन् ‘गाउँमा मुख देखाउन जान पनि समस्या । के गर्नु के ?’ छोरीको मानसिक अवस्था पनि ठिक नभएको र सुत्केरी हुन लागेको अवस्था देखेर कसैले पनि राम्रो ठाउँमा बस्न नदिएपछि आफुहरु बाध्य भएर गाइगोठमा बस्नु परेको सुमित्राले पीडा पोखिन् । सुत्केरी आमा र शिशुको अवस्था बुझेर दमकका युवा व्यवसायी नवीन अग्रवालले आमा र शिुशुलाई एक महिनाका लागि पुग्ने पोसिलो खाद्यान्न उपलब्ध गराएका छन् । यस्तै, दमककै सामाजिक व्यक्ति चाँदनी बस्नेतले नवजात शिशुका लागि कपडासमेत प्रदान गरिन् ।