शनिश्चरे/एक महिलाको हत्या गरेको अभियोगमा झापा दमक ४ का तीर्थराज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार अपराह्न करिब साढे चार बजेतिर आफ्नै कोठामा मृत फेला परेकी सोही वडाकी ४५ वर्षीया अञ्जु गजमेरको हत्यामा संलग्न रहेको आरोपमा ४३ वर्षीय आचार्यलाई सोमबार राती पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अञ्जुका श्रीमान पृथ्वी गजमेरले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको दमक प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले बताए । घटनापछि फरार रहेका आचार्यलाई लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको छ । उता, दमक ५ निवासी, पृथ्वी आधारभुत बिद्यालयका दमक ७ का शिक्षक भिम न्यौपानेको सोमबार राती सुतेकै अबस्थामा रहस्यमय निधन भएको प्रहरीले जनाएको छ । धरमपुरका होमियोपैथिक चिकित्सक लेखनाथ भट्टका कान्छा छोरा अमृत भट्टको भारतको बैङलौरमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।