धरान/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ । आज बसेको व्यवस्थापिका संसदको बैठकमा एमालेले अवरोध गर्दै सरकारविरुद्ध एक्सन लिएको हो । उसले सरकार विभिन्न बहानाबाजी गरेर निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएको छ ।

किन गर्यो संसदमा अवरोध ?

सरकारले मधेसवादी दलको माग अनुसार तराईमा अझै स्थानीय तहको संख्या बढाउने तयारी गरेपछि त्यसको विरोधमा एमालेले संसदमा अवरोध गरेको हो ।

बैठकको सुरुमा बोल्दै एमाले सांसद गंगालाल तुलाधरले स्थानीय तहको पुरर्संरचना आयोगको प्रतिवेदनले दिएको सुझाव विपरित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वैशाख १४ गतेभित्र तराईका २३ जिल्लाका सीमाकंन हेरेफेर गर्ने तयारी गरेको भन्दै आपत्ति जनाए । उनले त्यो आफूलाई मान्य नभएको भन्दै यसले निर्वाचन विथोल्ने बताए । उनले अहिले निर्धारण गरिएको संख्यामै निर्वाचन गर्न माग समेत गरे । यसो नगरेसम्म संसद चल्न नदिने अडान सुनाएर उनले आफ्नो कुरा सके ।

सांसद तुलाधर बोलिसकेपछि ताली बजाउँदै एमालेका सांसदहरु जर्याक जुरुक उठेका थिए । संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा एमाले सांसद उठेपछि सभामुख ओनसरी घर्तीले तपाईहरुका मागप्रति आफू गम्भीर भएको भन्दै आसनग्रहण गर्न पटक पटक आग्रह गरिन् । तर, एमाले सांसदले बस्न मान्दै नमानेपछि बाध्य भएर सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरिन् ।

मधेसी मोर्चाले निर्वाचनमा भाग लिन तराईमा जनसंख्याका आधारमा स्थानीय निकायको संख्या निर्धारण गर्नुपर्ने माग राख्दै आएको छ ।

दैनिकनेपालबाट