शनिश्चरे/निर्माण थालिएको १४ वर्षपछि झापाको दमकमा नेपालकै पहिलो अपांगमैत्री बसपार्क निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।नमूना दावी गरिएको सो बसपार्कको सोमबार एक कार्यक्रमकाबीच बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थराज बस्नेतले शुभारम्भ भएको घोषणा गरेका छन् ।

कच्ची ठाउँमा हिँउदमा धुलो र वर्षामा हिलोबीच यात्रु र यातायातका साधनका लागि अप्ठेरो गरी सञ्चालन हुँदै आएको बसपार्कको ढलान गर्ने काम सम्पन्न भएपछि यसलाई औपचारिक रुपमा सुचारु भएको घोषणा गरिएको हो ।

पूर्वपश्चिम मुख्य सडकसँगै उत्तरतर्फ जोडिएको वसपार्कको २ तले टर्मिनल भवनमा एकै पटक ८६ जना यात्रु अट्न सक्ने यात्रु आरामकक्ष निर्माण भएको छ । बसपार्कमा एक पटक २५ वटा बस स्टेण्ड गर्न सकिने छ ।

त्यहाँ ढल निर्माण गरिएको छ ।बसपार्कको ठाउँ–ठाउँमा २५ वटा यात्रु प्रतीक्षालय, लामो दुरीका वसको होल्ड पार्क, यात्रुको सामान राख्ने कोठा, सडकसँग जोड्ने पूर्व र पश्चिमको थोरै मुखको भाग सहित अझै साढे तीन करोड बराबरको काम सम्पन्न हुन बाँकी रहेको अध्यक्ष वस्नेतले बताए ।

यात्रुको समस्यालाई ध्यानमा दिएर वसपार्क सञ्चालनमा ल्याई बाँकी काम लगातार गर्दै जाने उनले उल्लेख गरे । । उनले भने,‘केही काम बाँकी भएपनि हामीले यात्रुको सहजतालाई ध्यानमा राख्दै बसपार्क सञ्चालनमा ल्याएका हौं, अब एक वर्ष भित्रमा बाँकी काम पनि सम्पन्न गर्ने लक्ष्य छ ।’२०५९ साल फागुनमा बसपार्कको डिजाइन गरिए पनि २०६९ सालबाट मात्र बसपार्क निर्माणको काम थालिएको थियो ।

बीचको १० वर्षको समयमा भनें सो क्षेत्रको अतिक्रमण हटाउने काम बाहेक अरु काम अगाडि बढ्न सकेन ।वसपार्कका लागि, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले करिव ६ करोड, दमक नगरपालिकाले करिव ६० लाख, जिल्ला विकास समितिले करिव ६० लाख, स्थानीय उपभोक्ता समेतबाट गरी विभिन्न समयमा ९ करोड बढी बजेट खर्च भएको उल्लेख छ ।

उपभोक्ता समितिमार्फत रकम नआए सीधै सरकारी ठेक्कामा काम हुने भएकाले लगानीको यकिन तथ्याङ्क नभएको समितिको भनाई छ ।सो बसपार्कबाट दैनिक ६ सय २५ यात्रुवाहक बसहरु सञ्चालन हुन्छन् ।

करिब १९ हजार यात्रुहरु दैनिक चढ्ने र ओर्लने गरेको औसत तथ्याङ्क छ ।२ बिघा १ कठ्ठा क्षेत्रफलमा फौलिएको सो बसपार्कमा निर्माण नहुँदा यसअघि स्थानीय व्यवसायी, यातायात व्यवसायीदेखि यात्रुहरुले समस्या झेल्दै आएका थिए ।