धरान/लागूऔषधसहित धरान प्रहरीले सोमबार छुट्टछुट्टै स्थानबाट चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानले लागुऔषध मुद्दामा अनुसन्धान सुरु गरेको छ । सोमबार इप्रका धरानको टोलीले धरान–१ पशुपति चौकबाट लागूऔषध प्रयोगकर्ता धरान–१८ का सुरेन्द्र राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई सोधखोज गर्दा धरान–११ का २५ बर्षिय समिर तामाङ्गबाट खरिद गरेको भनेपछि उनको घरमा खानतलासी गर्दा ३० एम्पुल टिडीजेसिकसहित नियन्त्रणमा लिएको हो । प्रयोगकर्ता राईको साथबाट १ एम्पुल एभिल, २ एम्पुल लुपिजेसिक र २ एम्पुल डाइजिलाव बरामद गरेको थियो । तामाङ्गको घर पछाडी झोलामा लुकाई राखेको एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजैसीक १० एम्पुल गरी ३० एम्पुल बरामद गरेको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाले पनि ९ सय ग्राम गाँजासहित दुईजनालाई सोमबारै नियन्त्रणमा लिएको छ । धरान २७ का २१ वर्षीय सुजन पौडेल र १९ वर्षीय सुशिल लिम्बुलाई ९ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । चारैजनालाई इलाका प्रहरी कर्यालय धरानाम राखी थप अनुसन्धान भइरहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । कोशी अञ्चल प्रहरी कार्यालयले अप्रेशन डेल्टा सञ्चालन गरेसँगै हरेकदिन जसो लागूऔषधसहित प्रयोकर्ता तथा कारोबारी पक्राउ हुन थालेका छन् ।