बिर्तामोड/ विर्तामोडको चर्चित अपहरणकाण्डको योजनाकार पत्रकार भएको खुलेको छ । सगरमाथा टेलिभिजनका झापा सम्वाददाता पुजन घिमिरेको योजनामा १५ करोड मुल्यको जमिन हत्याउने योजना बनेको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

घिमिरेले नै झापाका राजनीतिक दलका केही नेता, ब्यवसायी, प्रशासन, मालपोत कार्यालयका कर्मचारी प्रयोग गरी जग्गाधनी जीवन बिष्टलाई अपहरण गरी पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिंदै भद्रपुर रोडमा रहेको ५ कठ्ठा १६ पास गराएको झापाका एसपी शैलेस थापाले बताए । प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्म पक्राउ परेका चारजना मुख्य अभियूक्त सार्वजनिक गरेको छ ।घटनाका मुख्य योजनाकार घिमिरेसहित ५ जना अभैm फरार रहेको एसपी थापाले जानकारी दिए ।

उनले अभियूक्तको नेपाल र भारतका प्रहरीमा समेत समन्वय गरेर खोजी भइरहेको हुनाले चाँडै नै पक्राउ पर्ने बताए । घिमिरेले शनिश्चरे ९ घर भएका बिष्टलाई अपहरण गरी भद्रपुर रोडको करोडौं मुल्य पर्ने त्यो जग्गा हत्याएका थिए ।

प्रहरीका अनुसार घिमिरे सहितका अभियूक्तहरूको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जवरजस्ती जग्गा पास गराएका थिए ।गएको असार १९ गते घिमिरेले बिष्टको स्वामित्वमा रहेको त्यो जमिनमा होटल गर्ने प्रायोजनका लागि भाडामा लिएका थिए ।

शुरुमा ५ बर्षका लागि जमिन भाडामा लिंदा बिष्टको नागरिकता बिवादास्पद भएको पत्ता लागेपछि उनले फेरि थप ५ बर्षको लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए । त्यही समयमा घिमिरेले विर्तामोडकै ओम शिवाकोटीको सहयोगमा बिष्टलाई अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा पु¥याए ।

‘त्यो होटलमा बन्धक बनाएपछि उनले अरु अभियूक्तलाई सम्पर्क गरेको पाइएको छ, एसपी थापाले भने, ‘बिष्टलाई माघ ११ गते नियन्त्रणमा लिएपछि जग्गा पास गर्न आवश्यक पर्ने कागजात लिएर पेस्तोल देखाएर धम्की दिंदै १२ गते भारततर्फ खेदाएको खुलेको छ ।’

‘बिष्टलाई खेदाएपछि मेचीनगरकै राजु कुँवरको फोटो उनको नागरिकतामा टाँसेर माघ १९ गते जग्गा पास भएको देखिन्छ, थापाले भने, ‘मालपोत कार्यालयले त्यो बेला बैधानिक रूपमै डोर गएको बताएको छ, अध्ययनपछि बिस्तृत सार्वजनिक गछौं ।’प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेचीनगरका भूपु कान्छा भनिने अजय राई, राजु कुँवर, चन्द्रगढीका तेजेन्द्र न्यौपाने र प्रेम न्यौपानेलाई पक्राउ गरेको थियो । भूपु कान्छा कांग्रेसका प्रभावशाली स्थानीय कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालयका खरदार हुन् ।

प्रेम चन्द्रगढीको न्यौपाने स्टोरका सञ्चालक ह्ुन् भने कुँवर भुपु कान्छाका सहयोगी हुन् ।प्रहरीले सार्वजनिक गरेको फरार अभियूक्तको नामावलीमा पुजन घिमिरे, शम्भु दहाल, अग्नि भनिने राजु आचार्य, लक्ष्मण बस्नेत र ओम शिवाकोटी रहेका छन् ।

घिमिरे सगरमाथा टेलिभिजनका झापा सम्वाददाता हुन् । उनी यसअघि पनि प्रहरीलाई ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने काण्डमा पक्राउ परेर झण्डै एक महिना प्रहरी हिरासतमा बसेका थिए ।

दहाल स्थानीय एक अनलाइनमा काम गर्ने पत्रकार हुन् । आचार्य नेकपा माओवादी केन्द्रका केन्द्रिय सदष्य तथा सूचना तथा सञ्चारमन्त्रीका स्वकिय सचिव हुन् ।

बस्नेतले भद्रपुरका ब्यवसायी पर्शुराम अग्रवालको गरामनीमा रहेको होटल शुभकामना भाडामा लिएर सञ्चालन गरिरहेका थिए । शिवाकोटी र घिमिरेले विर्तामोडमा रहेको बिष्टको जमिन भाडामा लिएर एभरेष्ट होटल सञ्चालन गरिरहेका छन् ।प्रहरीले मालपोत कार्यालयका लेखन्दास मुक्ति निरौला, नायब सब्बा टीकाराम लुइटेल र खरिदार रुद्र सापकोटा सहित केही कर्मचारीलाई पनि अनुसंधानको घेरामा राखेको जनाएको छ ।

थापाले भने, ‘उनीहरूले डोरमा जाँदा केही समस्या उत्पन्न भएको बुझेको छौं, बिस्तृत अनुसंधान पछि पक्राउ गरेर कारवाही अघि बढाउछौं ।’जमिन खरिद गर्ने प्रेम न्यौपानेको बैंक खाताबाट १ करोड ७५ लाख रूपैंया निकालेको खुलेको छ । उनले ३० लाख रूपैंया नगद नै दिएको तथा पास खर्च १५ लाख गरेर जम्मा २ करोड २० लाख जतिको कारोबार भएको पाइएको प्रहरीले जनाएको छ । सो रकम फरार र पक्राउ परेका ब्यक्तिहरूले बाँडफाँड गरेको भेटिएको एसपी थापाले बताए ।

बिष्टले इलाका प्रहरी कार्यालय विर्तामोडमा चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले २७ र ३० गते उनीहरू पक्राउ परेका हुन् ।प्रहरीले फरार रहेका घटनाका योजनाकार पुजन घिमिरेको घरबाट जीवन बिष्टको नागरिकता, जमिनको धनिपुर्जा, जमिन भाडामा लिएको सम्झौता पत्र, बैंकका चेकबुक बरामद गरेको जनाएको छ ।

यसैगरी पक्राउ परेका अर्का मुख्य अभियूक्त तेजेन्द्र न्यौपानेको घरबाट बिभिन्न ब्यक्तिका नाममा जिल्ला प्रशासन कार्यालयबाट जारि भएका नागरिकता, लाइसेन्स, फिलिपिन्सका नागरिकको राहदानी, नेपाली राहदानी, नेपाली सेनामा कार्यारत रहेको भन्ने प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रको खाली कार्ड ४९ वटा बरामद भएको प्रहरीले जनाएको छ ।

न्यौपानेले नेपाली सेनामा काम नगरेको थापाले बताए । न्यौपाने लामो समय यातायात ब्यवस्था कार्यालयमा काम गरेर केही अघि मात्र प्रशासन कार्यालयमा सरुवा भएर गएका थिए । घटनापछि उनी नक्कली लाईसेन्स बनाउन पनि संलग्न रहेको खुलेको छ ।घटनामा प्रशासनकै अरु कर्मचारीको सम्लग्नता हुनसक्ने अनुमान प्रहरीको छ ।

केही राजनीतिक दलका स्थानीय नेता फरार छन् । प्रहरीले उनीहरूको नाम भने अनुसंधानमा असर पर्ने आशंकाले सार्वजनिक गरेको छैन । एसपी थापाले अभियूक्तमाथी अपहरण, शरिर बन्धक जस्ता संगठित अपराध, ठगी, सरकारी छाप दुरूपयोग जस्ता अभियोगमा मुद्दा चलाउने जनाएको छ ।