धरान/नेपाल प्रहरीले डीआईजी नवराज सिलवाललाई बयान लिएर छाडेको छ । प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । उनका कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ता शम्भु थापा पनि सँगै गएका थिए । डीआईजी सिलवाललाई हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ, जसको भिडियो रेकर्ड समेत गरिएको छ । सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने, ‘बयान लिन ल्याइएको थियो । बयान सकेर उहाँको घरमा छाड्न पठाइएको छ । यसैबिच सर्वोच्च अदालतले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । सिलवाललाई सोमबार विहान प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको थियो । सिलवाल पक्राउ परेपछि उनको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेश दिइएको हो ।