सप्तरी/ पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एक महिलाको मृत्यु भएको छ । सोही नगरपालिका–२ की २५ वर्षीया अनिता चौधरीको मृत्यु भएको कञ्चपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ८५५९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे.७प ४३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार चौधरी सो ठक्करबाट घाइते भएकी थिइन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक, त्यसका चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
यस्तै, पूर्व–पश्चिम लोकमार्गमा पर्ने रूपनी गाउँपालिका–१ मा पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट सोही ठाउँका अकबर मियाँकी ५ वर्षीया छोरी कलिम मियाँ घाइते भएकी छन् ।
ती बालिकालाई बाटो काट्ने क्रममा स.१च ८६५ नम्बरको भ्यानले ठक्कर दिएको थियो ।ठक्करबाट घाइते बालिकालाई राजविराजको सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।