धरान/‘अप्रेसन डेल्टा’ सञ्चालन गरिरहेका कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी उत्तमकुमार कार्कीले कानुन बर्खिलाप गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् ।

उनले आफूले कानुनी कारबाही गर्न नसके बाख्रा चराउन जाने बताए । ‘कुन्द्रे, मुन्द्रे, झुन्द्रे म केही पनि जान्दिन । राज्य भन्दा ठूलो र कानुन भन्दा माथि कोही छैन्हो/हाेइन् ।’ सुनसरी उद्योग बाणिज्य संघ धरानले गरेको शान्ति सुरक्षा ट्राफिक व्यवस्थापन विषयक अन्तरक्रियामा एसएसपीले भने, ‘कानुन अनुसार कारबाही गर्न सकिन भने बाख्रा चराउन जान्छु । बाख्रा गाई चराएकै हो । चराउछु ।’
छलफलका क्रममा विभिन्न व्यक्तिहरुले राखेको गुनासोको आधारमा उनले गुण्डागर्दी समाप्त पार्न ‘गुण्डाहरुलाई हेम्मरले हान्न तयार’ रहेको प्रतिक्रिया दिए । निक्कै आक्रोसित देखिएका एसएसपी कार्कीले अपराधीहरु कानुनको र प्रहरीहरुको दुस्मन रहेको बताए । ‘अपराधी कानुनको दुस्मन हो । प्रहरीको दुस्मन हो ।’ उनले भने ।
राजनीतिक अपराधीहरु बढेको गुनासोमा उनले भने, ‘राजनीति राजनीति हो । अपराधी अपराधी हो । अपराधीहरु कानुन भन्दा माथि हुदैनन् ।’ अपराधीलाई कारबाही गर्न हात बाधेर आफू नबस्ने उनले बताए । उनले आवश्यक अनुसार प्रहरीले कलम पनि चलाउने र कानुनले दिए अनुसार बन्दुक पनि चलाउने बताए ।
उनले प्रहरीलाई सबैबाट सहयोग भएमा अपराध निमिट्यान्न पार्ने बताए । उनले त्यसका लागि सबै पक्षबाट सहयोग चाहिने बताए । उनले धरानमा लागूऔषधको कारणले धेरै समस्याहरु निम्तिएको जसमा गुण्डागर्दी पनि एउटा रहेको बताए । सब्जी मण्डीमा ट्याम्पूहरु जथाभावी छिरेर यात्रु उठाउने विषयको गुनासोमा उनले सब्जी मण्डीभित्र अबदेखि ५–१० वटा मात्रै टेम्पो छिराउने नियम बनाउनुस् त्यसमा आफूहरुले गर्नु पर्ने दायित्व पूरा गर्ने बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले शान्ति सुरक्षाको सबै विषयमा प्रहरी जानकार नहुन पनि सक्ने त्यसका लागि जनताले पनि सूचना सहयोग गर्नु पर्ने बताए । उनले भने, ‘सूचना दिनुभयो भने ठूलो सहयोग हुन्छ ।’ उनले निर्वाचन नजिकिदै गर्दा विभिन्न अवान्छनित कृयाकलापलाई अन्त्य गर्न प्रहरी सदैव लाग्ने बताए । कार्यक्रममा कतिपय कुराहरु धरान उपमहानगरपालिकास“ग जोडिएका थिए ।
उक्त विषयमा धरान उपमहानगरका कार्यकारी अधिकृत विष्णु कोइरालाले राजनीतिक हस्तक्षेपका कारण पनि कतिपय काम गर्न नसकेको गुनासो गरे । उनले निर्वाचनले गर्दा कतिपय कुराहरु गर्न नसकेको स्वीकार गरे । ट्राफिक व्यवस्थापनको विषयमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सौरभ राणाले जिज्ञासाहरुको समाधान गरेका थिए । उनले धरानको ट्राफिक व्यवस्थापनको लागि सिटी सफारीहरुलाई व्यवस्थित र बसपार्क व्यवस्थित अनिवार्य रहेको बताएका थिए ।
उवा संघका अध्यक्ष राजेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकहरुको तर्फबाट पत्रकार सन्तोष काफ्ले, पत्रकार गोपाल कामत, शान्ता अधिकारी, मितेरी बैंकका कार्यकारी प्रमुख तुलसी वस्ती, कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईलगायतले जिज्ञासा राखेका थिए ।