डिसी/एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ को लागि सम्पन्न हुने निर्वाचनको लागि सदस्यता छानबिन तथा प्रमाणीकरण कार्य अन्तिम चरणमा पुगेको छ। विभिन्न १६ वटा स्टेट च्याप्टरहरुमा डाटा उपलब्ध गराइसकेको र केही स्टेटहरुबाट छानबिनसमेत भइ डाटा उपलब्ध भएको एनआरएन अमेरिकाका महासचिव एवम् एनआरएन राष्ट्रिय छानबीन तथा प्रमाणीकरण समिति अमेरिकाका संयोजक तिलक श्रेष्ठले जानकारी दिए।

छानबीन गर्ने क्रममा केही नामहरु दोहोरिएको र केही ईमेलहरु पनि पुनस् प्रयोग गरिएको र केही व्यक्तिहरुको सदस्यताको लागि शुल्क बुझाए पनि नाम नभएको भन्ने गुनासो आए पनि फोन र ईमेलको माध्यमबाट सो समाधान गर्ने कार्य भइरहेको श्रेष्ठले बताए। न्युन संख्यामा मात्रै सम्पर्क हुन नसकेको तर सबैबाट सकारात्मक फिडब्याक आएकोले कार्य गर्न सरल र सहज भएको कुरा समेत श्रेष्ठले जोडे। समयमै छानबीन तथा प्रमाणीकरणको कार्य सम्पन्न गरी निर्वाचन समितिलाई बुझाउने कुरामा समिति अहोरात्र खटिरहेको र हरेक च्याप्टर छानबिन समिति पनि यस कार्यमा लागि परिरहेकोले पनि छानबीन कार्य समयमै हुने कुरामा उनी विश्वस्त रहेको देखिए। छानबीन कार्यलाई प्रभावकारी बनाउनको निम्ति र सहज पार्नको निम्ति छानबीन तथा प्रमाणीकरण समितिबाट आएको ईमेल र फोनलाई सम्बोधन गरी सहयोग गरीदिन श्रेष्ठले सबैलाई आग्रह गरेका छ्न्। केन्द्रीय छानबिन समितिमा तिलक श्रेष्ठ - संयोजक, बिनोद तिवारी-सदस्य, हरिहर दाहाल -सदस्य, पासाङ लामा - सदस्य र नवराज खड्का -सदस्य छन्।