धरान/पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुन्डीराज गिरीलाई चैत्र महिनाको पुलिस अफ दि मन्थबाट सम्मानित गरेको छ । गिरी झापा जिल्लाको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरण गर्नमा मूख्य भुमिका निर्वाह गरेका थिए । उनले दुर्घटना न्युनिकरणमा झापा जिल्लाको मुख्य तथा सहायक राजमार्गका महत्वपुर्ण ४० स्थानमा जनचेतनामुलक होर्डिङ वोर्ड राख्ने, फलामे ट्रष्ट बृज, बस पकेट, ट्रक पार्किङ, विर्तामोडको मुख्य बजारहरूमा २०० भन्दाबढी डिभाईडरहरू निर्माण गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । उनले ३५ सय भन्दा बढी ट्याक्टरमा व्याक लाईट जडान गरी लोकल बसहरुमा राखिएका नन स्टप वोर्ड हटाएको, अव्यवस्थीत रुपमा रहेको खानेपानी, विधुत, टेलिकमका तार, पोल ढल समेतलाई हटाउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बजार क्षेत्रको सरसफाई अभियान, बिद्यार्थी, चालक, परिचालक लगायत स्थानीयहरूलाई ट्राफिक नियम सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रमहरू नियमित रुपमा संचालन जस्ता कार्य गरेका थिए । यस्तै बजार क्षेत्रमा स्थानीयहरुसंग समन्वय गरी थप ५ थान सि सि क्यामेरा जडान गर्नुका साथै चोरी पैठारी गरी ल्याएका मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियम उल्लघन गर्ने सवारी साधनहरुबाट ११ महिनाको अवधिमा २ करोड ६१ लाख ८० हजार राजश्वसमेत संकलन गरेको जनाइएको छ ।