फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक अति दक्षिणपन्थी मारिन ल पेनले आफूले देशमा सबै कानुनी आप्रवासन रोक्ने बताएकी छन्।
नेशनल फ्रन्टकी नेतृले एउटा र्यालीलाई सम्बोधन गर्दै आफूले "बौलाहा र अनियन्त्रित स्थिति" समाप्त गर्न चाहेको बताइन्।
आइतबार हुने पहिलो चरणको मतदानअघि मत सर्वेक्षणहरुले उनी अर्का मध्यपन्थी उम्मेदवार इमानवेल माक्रोँसँग निकै कडा प्रतिस्पर्धामा देखिएकी छन्।
माक्रोँले अति वामपन्थी उम्मेदवार जाँ-लुक मेलाँशोँलाई जिताइए देशको स्थिति नराम्रो हुने मतदाताहरुलाई चेतावनी दिएका छन्।
दोस्रो चरण
मत सर्वेक्षणहरुले माक्रोँ र ल पेन दोस्रो चरणसम्म पुग्ने देखाएका छन्। मैले सबै कानुनी आप्रवासन रोक्ने एउटा निर्णय गर्नेछु जसबाट उत्पन्न यो आक्रोश र अनियन्त्रित स्थितिका कारण हामी तल पर्दैछौँ। मारिन ल पेन, अति दक्षिणपन्थी नेतृ आगामी मे ७ तारिखमा दोस्रो चरणको मतदान हुनेछ। तर उनीहरुबीच अत्यन्त कडा प्रतिस्पर्धा हुने देखिन्छ।
बीएफएमटीभीका लागि गरिएको एउटा मत सर्वेक्षणले पहिलो चरणमा माक्रोँले २४ प्रतिशत, ल पेनले २३ प्रतिशत, अनुदारवादी नेता फ्रास्वाँ फियोँले १९ दशमलव ५ र मेलाँशोँले १८ प्रतिशत मत पाउने देखाएको छ।
प्यारिसमा एउटा र्यालीलाई सम्बोधन गर्दै ल पेनले भनिन्, "मैले सबै कानुनी आप्रवासन रोक्ने एउटा निर्णय गर्नेछु जसबाट उत्पन्न यो आक्रोश र अनियन्त्रित स्थितिका कारण हामी तल पर्दैछौँ।"
अनिर्णित
त्यसपछि फ्रान्सले आप्रवासनसम्बन्धी "झन् आमूल, झन् तार्किक, झन् मानवीय, झन् व्यवस्थापन गर्न सकिने नीतिहरु" ल्याउने उनले उल्लेख गरिन्।
वाम झुकाव भएको लिबरेशन पत्रिकाले "तल्लो तहका समर्थकहरुलाई सन्तुष्ट पार्ने उद्देश्यका साथ ल पेनले चुनावी अभियानका क्रममा कडामध्येको अभिव्यक्ति" दिएको जनाएको छ।
पहिलो चरणको मतदानमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा हुनेछन्।
मत सर्वेक्षणहरुका अनुसार तीन जनामध्ये एकजना मतदाता अझै अनिर्णित छन्।
योसँगै केही दशकयता फ्रान्समा भएका निर्वाचनमध्ये आउने चुनाव सबैभन्दा अड्कल गर्न नसकिने हुने देखिएको छ।
(विवीसीबाट)