शनिश्चरे/ झापाको दमकलाई हरित नगरका रुपमा विकास गर्ने अभियान अन्तर्गत मुख्य चौकमा निर्मित हरित नगर प्रतिकको शनिबार उद्घाटन् भएको छ ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज दहालले नगरपालिकाको करिब १६ लाखको लागतमा कलाकार विक्रमश्रीद्धारा निर्मित डाँफे र मुनालको प्रतिमा सहित गोलो चौकमा निर्मित प्रतिकको उद्घाटन् गरेका हुन् ।
कार्यक्रममा बोल्दै अधिकृत दहालले इलाम र कोहलपुरपछिको हरित नगरको अवधारणा अगाडि बढाईएकाले नगरवासीको उत्साहमा ५ वर्षमा अभियान पुरा गरेर राष्ट्संघमा सूचीकृत पहल गर्ने उल्लेख गरेका छन् ।
गोलो चोकलाई व्यवस्थित गरी रेलिङ, फुलबारी सहितको प्रतिकलाई निर्माण भएको छ । जसलाईनगरको मुख्य चिनो बनाएर अभियान अगाडि बढाइने छ । हरित नगरको अवधारणा अन्तर्गत स्टाटेजी प्लान बनाएको छ ।
जसमा पहिलो ढल व्यवस्थापन, दोस्रोमा हरित अवस्था व्यवस्था, त्यसपछि वातावरणमैत्री सूचकको पालना गर्ने सहित रहेका छन् । रुख विरुवा रोप्नु पर्ने धारण पैदा गर्दै कम्तिमा ‘एक घर, दुई विरुवा र चार गमला’ को अभियान अगाडि बढाउने उल्लेख छ ।
जसमा विरुवा र गमलाको अभियान केही मात्रामा अघि बढेको छ । ढल व्यवस्थापनमा पाथवे सहितका संस्थाको सहकार्यमा फोहोरमैला व्यवस्थापनको काम अगाडि बढ्दैछ ।
कौशीखेती, अग्र्यानिक खेती सहितका गतिविधि अभियानमा हुने छन् । ‘स्थानीय निकायका जनप्रतिनिधि निर्वाचित भएपछि हरितनगर अभियानको औपचारिक घोषणा गर्दै नगरपालिकाका सवै योजनाहरु हरितनगरमैत्री बनाएर कार्यक्रम लगिने छ ।’– कार्यकारी अधिकृत दहालले उल्लेख गरे ।