इलाम / स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै देउमाई नगरपालिकामा चुनावी चहलपहल बढेको छ । यतिखेर नगरपालिकाका चोक–चोकका पसल र विभिन्न स्थानमा कार्यक्रम तथा सामाजिक सञ्जालबाट चुनावबारे चर्चा हुन थालेका छन् । सबै राजनैतिक पार्टीहरू गाउँ–गाउँमा पुगेर भोट माग्न र आफ्नो जित सुनिश्चित गर्न दौडधूपमा व्यस्त देखिन्छन् । देउमाईमा मेयरका लागि काङ्ग्रेसका तर्पmबाट क्षेत्र नं. २ का क्षेत्रीय सभापति गोविन्द गिरी र पार्टीका पूर्वजिल्ला सचिव होम दुलालका नाम चर्चामा छन् भने उपमेयर पदमा शोभा बस्नेत र तारा राईका नाम चर्चामा देखिन्छन् । त्यस्तै एमालेका तर्फबाट मेयर पदमा पार्टीका जिल्ला अध्यक्ष राम राना र जिल्ला सचिवालय सदस्य सूर्य पोखरेलका नाम चर्चामा देखिन्छन् ।

उपमेयरका लागि मञ्जु खतिवडा र दुर्गा आचार्यका नाम आएका छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फ मेयर पदका लागि राम राई र सर्कलका नाम चर्चामा आएको माओवादी केन्द्रका एक नेताले बताए । उपमेयरका लागि भने खासै चर्चा नभएको उनको भनाइ छ । त्यस्तै राप्रपा नेपाल र अन्य पार्टीहरूले भने यो विषय छलफलकै क्रममा रहेको बताएका छन् । नगरपालिकाको वडा नम्बर ९ को चुनावी चहलपहलले समेत तीव्रता पाएको छ । यो वडामा काङ्ग्रेसका तर्पmबाट आठजनाका नाम चर्चामा छन् । चर्चामा रहेका अध्यक्षका प्रत्यासीहरूमा साविक जीतपुर गाविसका पार्टी सभापति कमल खनाल, गाविसका पूर्वपार्टी सचिव गोविन्द भट्टराई, ङनिन्द्र कट्टेल, लीलाराम कट्टेल, दुर्गा न्यौपाने, भगीरथ गिरी, राधा गिरी आदिका नाम आएका छन् भने सोही वडाबाट खुल्ला पुरुष नगर सदस्यमा गङ्गा प्याकुरेल र बुद्धराम लिम्बू देखिएका छन् ।

त्यसै गरी महिला सदस्यमा एकमात्र भीमा बराल (कट्टेल) को नाम देखिन्छ । दलित महिला सदस्यमा नर्मदा परियार छिन् । एमालेका तर्फबाट वडाध्यक्षका प्रत्यासीहरूमा प्रेम बराल र ठाकुर कट्टेल छन् भने महिला खुल्ला सदस्य र महिला दलित आरक्षण कोटामा अहिलेसम्म टुङ्गो लागिनसकेको पार्टीले बताएको छ । माओवादी केन्द्र, राप्रपा नेपाललगायतका दलहरू पनि उम्मेदवार चयनमा लागेका छन् ।