इनरुवा / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार विरोध जुलुस प्रदर्शन गरेका छन् । स्थानीय तहको निर्वाचन धोका भएको भन्दै मोर्चाका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । जिल्ला समन्वय समितिको कार्यालय अगाडिबाट मोर्चाका नेता–कार्यकर्ताले केन्द्रीय कार्यक्रमअनुसार निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । विरोध जुलुसपछि आयोजित कोणसभामा बोल्दै मोर्चाका जिल्ला नेताहरू डा सीएन पाठक, रघुनाथ मेहता, उमेश शाह र राकेश मेहतालगायतले मधेशका माग सम्बोधन नगरी हुने चुनाव पूर्ण बहिष्कार गर्ने जनाएका थिए । उनीहरूले मधेशी जनताको अधिकार सुनिश्चिततासहित सीमाङ्कन र अन्तरिम संविधानमा उल्लेख भएका अधिकारहरू स्थापित गर्ने गरी संविधान संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । जुलुसमा महिलाहरूको उल्लेख्य सहभागिता थियो सदरमुकाम इनरुवा र वरपरका गाउँबाट आएका मोर्चाका कार्यकर्ताहरूले ‘स्थानीय चुनाव बहिष्कार गरौँ, मधेशको माग सम्बोधन गर, स्थानीय तहको चुनाव धोका हो’ जस्ता नाराबाजी गरेका थिए । मोर्चाले वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम समेत तय गरेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले जानकारी दिए ।