धनकुटा/ आगामी स्थानीय तहको निर्वाचनको लागि धनकुटाका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरी कार्यक्रम गर्न थालेका छन् । राजनीतिक दलले चुनावी प्रचारप्रचारको काममा सबैभन्दा धेरै शिक्षकहरुको प्रयोग गरिरहेका छन् ।

त्यस्तै सार्वजनिक र नीजि घरमा भित्ते लेखन पनि गरिरहेका छन् । यस्तो काम निर्वाचन आचरसंहिता विपरीत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए । निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा निर्वाचन सम्बन्धी प्रचारप्रसारको लागि धार्मीक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।

तर पाख्रीबास र धनकुटा नगरपालिका क्षेत्रमा नेकपा माओवादी केन्द्रले भित्ते लेखन गरेका छन् । साविकको मुगा गाविस कार्यालयमा, मुगा जाने सडकको दायाँबायाँको भित्तामा माओवादी केन्द्रका कार्यकर्ताले चुनाव चिन्ह गोलाकार भित्र हसिँया हथौडा र चुनावी नारा लेखेका छन् । धनकुटा बजारको परिचयमोड र राजमार्ग आसपासमा पनि भित्ते लेखन भएका छन् । यस विषयमा निर्वाचन कार्यालयमा जानकारी आएको र सचेत गराउने कार्यसमेत गरेको सूचना अधिकारी पौडेलले बताए । त्यसैगरी चुनावी प्रचारकै लागि कोसी राजमार्गको किनारामा माओवादी केन्द्रले पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा राखेका छन् । ‘यो कार्य पार्टीको आधिकारीक होइन । कोही कार्यकर्ताले गरे होलान् । निर्वाचन आचारसंहिता विपरीत भए सच्याउँछौ’ माओवादी केन्द्र धनुकुटाका सहसंयोजक ऋषिराम ढुंगानाले भने ।

त्यसैगरी कांग्रेस र एमाले निकट शिक्षकहरु समेत निर्वाचन आचारसंहिता विपरीत चुनावी सभामा सहभागी भइरहेका छन् । मञ्चमा आसनग्रहण नगर्ने, उपस्थितीमा हस्ताक्षर नगर्ने, तर कार्यक्रमको शोभा बढाउन चुनावी कार्यक्रममा सहभागी भइरहेको एक शिक्षकले बताए । निर्वाचन आचारसंहिताको ५ नम्बरमा स्थानीय प्रशासनको अनुमति नलिई उम्मेदुवार वा राजनीतिक दलले सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, र्‍याली, बैठक र भेला गर्न नहुने उल्लेख छ । तर कुनै पनि दलले अनुमति लिएका छैनन् । आचारसंहितामा उल्लेख भएको नियम पालना गर्नु पर्छ । राजनीतिक दलले अनुमति लिएका छैनन् । यस विषयमा सचेत गराउने धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताए।