इनरुवा / सुनसरी जिल्ला प्रशासन कार्यालयले मतदान केन्द्र रहने स्थानको अवस्था र सुरक्षालाई दृष्टिगत गरी अनुगमनलाई अघि बढाएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहित सुरक्षा निकायका पदाधिकारीहरू सहभागी टोलीले मतदान स्थलको पूर्वाधार र सम्भावित सुरक्षा खतरालगायतका बारेमा जानकारी लिन थालेको हो । प्रशासनले निर्वाचन स्थलको अवस्था र सुरक्षालाई प्रमुख आधार मानेर अनुगमन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले सबै मतदान स्थलहरूको स्थलगत निरीक्षणपश्चात् आवश्यकताअनुरूपको बन्दोबस्त मिलाइने बताए । सोमबार कोशी गाउँपालिका क्षेत्रका स्थलहरूको निरीक्षण गरेको टोलीले मङ्गलबार बर्जु गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रमा रहेका मतदान स्थलको निरीक्षण गरेको छ । सुनसरीको दक्षिणी भेगमा भारतसँग खुल्ला सिमाना, मधेशकेन्द्रित दल, चुनाव बिथोल्न खोज्ने समूहलगायतको उपस्थितिलाई दृष्टिगत गर्दै संवेदनशील रूपमा लिएको छ । सुनसरीमा १ सय ६५ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लामा चुनावको तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकी कर्णले जानकारी दिए । सुनसरीमा ४ लाख २९ हजार मतदाता छन् ।