काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलका नेताहरुसँग समेत आवश्यक परामर्शमा संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएकाले पारित हुने दाबी गरेका छन् ।
मङ्गलबार बिहान संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रधानमन्त्रीले सकेसम्म सबैको भावना समेट्ने र सहमति जुट्ने गरी संविधान संशोधनको दोस्रो प्रस्ताव तयार गरिएको जिकिर गरे ।
उनले दोस्रो संशोधन प्रस्तावलाई पारित गरेर संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्न आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्रीले प्रस्तावित विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धन पनि स्थानीय तहको चुनावमा सहभागी हुने ढोका खोलेको बताए । उनले आगामी वैशाख ३१ गते हुने चुनाव भने नसारिने स्पष्ट पारे ।
उनले मधेसका केही जिल्लामा स्थानीय तहको संख्या केही बढाउन स्थानीय विकास मन्त्रीको नेतृत्वमा समिति बनाएको बताए । स्थानीय तहको संख्या बढाउन प्रस्ताव गरिएका ठाउँमा चुनाव केही दिनपछि सार्न सबैको सहमति हुन्छ भने सरकार तयार छु उनले भने बैशाख ३१ को चुनाव भने कुनै अवस्थामा सर्दैन ।