उर्लाबारी / आसन्न स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा उर्लाबारी नगरपालिकामा पनि राजनीतिक सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलका आकांक्षीहरुले नगरको नेतृत्व हात पार्न उम्मेदवारी घोषणा गर्ने क्रम तीब्ररुपमा अगाडि बढेको छ । बिगतका दुईवटा स्थानीय निर्वाचनमा नेकपा एमालेले विजय हासिल गरेको यस नगरमा यसपटक भने परिवर्तित राजनीतिक परिवेशले पनि निरन्तरता पाउन मुश्किल हुने विश्लेषकहरुको भनाइ रहेको छ । त्यसको पछिल्लो नमूनाका रुपमा दोस्रो संविधानसभाको निर्वाचनमा काङ्ग्रेसका तर्फबाट डिगबहादुर लिम्बूको जितलाई लिने गरिएको छ । काङ्ग्रेसले यसपटकको निर्वाचनमा मेयरको लागि क्षेत्रीय सभापति खड्ग फागोकोे नाम अगाडि सारेको छ । नगरको भूगोलसँग जानकार फागो विजयी हुने सम्भावना देखेपछि काङ्ग्रेसले उक्त निर्णय गर्ने तयारी गरेको जिल्ला सभापति डिगबहादुर लिम्बूनिकट स्रोतले बताएको छ । नगरमा फागोसँगै अन्य आधा दर्जन मेयरका लागि आकाङ्क्षी भएपनि फागो सर्वाधिक मजबुत दावेदार भएको नगरका काङ्ग्रेस कार्यकर्ताले बताउँदै आएका छन् । काङ्ग्रेसले उपमेयर र अधिकांश वडामा उठ्ने उम्मेदवार प्रायः सहमत भए पनि नगरबाट क्षेत्रीय समितिमा प्राप्त निर्देशनअनुसार पठाइएको जानकारी दिँदै नगर सचिव राजु लामाले बैशाखको पहिलो सातासम्ममा उम्मेदारहरुको नामावली सार्वजनिक हुने बताएका छन् । यसैगरी एमालेबाट नगरमा मेयरका लागि पनि एक दर्जन आकाङ्क्षी रहेपनि अन्त्यमा क्षेत्रीय इञ्चार्ज भूपाल जिमी, जिल्ला सदस्य मानबहादुर श्रेष्ठ र पूर्व नगर इञ्चार्ज गंगाप्रसाद खरेलबीच सहमती हुने प्रायः निश्चित भएको एमाले स्रोतले जनाएको छ । एमालेबाट मेयरका लागि मुक्ति बराल, सूर्यप्रसाद गुरागाईं, उमाकान्त गौतम, गंगाप्रसाद बास्तोला, मुक्ति न्यौपाने, लक्ष्मी भण्डारी, अग्निप्रसाद भट्टराई, पुष्प ढकाल, मनोरथ भण्डारी लगायतका स्थानीय नेता रहेका छन् । विगतमा दुईपटक विजय एमालेले तेस्रो पटक पनि जित निश्चित भएको बताउँदै आकाङ्क्षीको सङ्ख्या बढी भएको बुझाई पार्टीभित्र रहेको अनुमान स्थानीय नेतृत्वले गरेको छ । यसरीनै माओवादी केन्द्रबाट पनि मेयरका लागि आधा दर्जनभन्दा बढी आकाङ्क्षी देखिएका छन् । नगरमा तेस्रो शक्तिका रुपमा रहेको केन्द्र काङ्ग्रेस र एमालेको उम्मेदवारी घोषणापछि मात्र घोषणा गरी मेयर हत्याउने रणनीतिमा रहेको छ । सो पार्टीबाट तत्कालीन नगर अध्यक्ष राजेन्द्र पौडेल, नगर इञ्चार्ज भोगेन्द्र डाँगी, चेतराज श्रेष्ठ, हिरालाल देवकोटा, पदम धिमाल, तोर्ण श्रेष्ठ, भक्ति पोखरेल लगायतका स्थानीय नेता रहेका छन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरको मेयरका लागि अध्यक्ष देवी दाहाल, उपाध्यक्ष बिमल निरौलासहित स्थानिय नेताहरु दयाराम भट्टराई, धर्मराज शाक्य, विनोद पोखरेलको नाम चर्चामा छ । आधा दर्जन नाम चर्चा रहेपनि पार्टीको जितको सम्भावना नदेखेपछि अन्य पार्टीसँग कार्यगत एकता गर्ने र त्यो पनि नभए अन्त्यमा दाहाल र निरौलामध्ये एकजना मेयरको उम्मेदवार बन्ने प्रायः निश्चित भएको एक स्थानीय पार्टी नेतृत्वले बताएका छन् । नगरमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा बाहेक रहेको नया“ शक्ति नेपालले निर्वाचनमा मेयरका लागि क्षेत्रीय संयोजक मनोहरि दाहाल र नगर संयोजक भक्तिराम अधिकारीमध्ये एक जनाले उम्मेदवारी दिनसक्ने अनुमान गरिएपनि पार्टीले निर्वाचनमा जाने वा नजाने निर्णय नगरेका कारण स्थानीय नेतृत्व अलमलमा परेको अभियन्ताहरुले बताएका छन् ।