शनिश्चरे / पूर्वी मोरङको पथरीशनिश्चरे नगरको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य बन्नका लागि सवै दलबाट आकांक्षीहरुको प्रतिष्पर्धा नै चलेको छ ।
आआफ्नो पक्षमा नगरको नेतृत्व हात पार्नका लागि प्रभावशाली उम्मेदवार छान्न सवै दलहरुले छलफल निरन्तर जारी राखेका छन् । माओवादी केन्द्रले प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । आइतबारसम्ममा त्यसबाहेक अन्य पद तथा अन्य कुनैपनि दलले वडा तहकै उम्मेदवारको टुंगो लगाइसकेको अवस्था छैन ।
साविकको पथरी र शनिश्चरे गाविस मिलेर ०७० सालमा पथरीशनिश्चरे नगरपालिका बनेको र पछिल्लो समयको सरकारी नीति अनुसार स्थानीय तहको संख्था न्यून गर्ने क्रममा यसै वर्ष हसन्दहलाई समेत जोडेर पथरीशनिश्चरे नगरपालिका कायम गरिएको हो ।
यसअघि पथरी र शनिश्चरे गाविस मिलेर बनेको नगरपालिकामा १५ वडा थिए । हाल साविकको वडा नम्बर १ लाई १, २ र ३ लाई २, ४ र ५ लाई ३, १४ र १५ लाई ४, हसन्दह १, ३, ५ र ९ लाई ५, हसन्दह ४, ६ र ८ लाई ६ नम्बर वडा बनाइएको छ । त्यस्तै, पथरीशनिश्चरेको ७ र १३ लाई ७, ११ र १२ लाई ८, ९ र १० लाई ९ र ८ लाई १० नम्बर वडामा विभाजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ । जसको जनसंख्या ६२ हजार ४ सय ४० रहेको छ ।
जिल्लामा महत्वपूर्ण ठानिने यस नगरको प्रमुख बन्ने कुरामा ठूलो दल नेपाली कांग्रेसबाट माधव कोइरालाको नाम चर्चामा अलि अगाडि बढेको छ । पार्टीका अरु आकांक्षी भन्दा कान्छा ४६ वर्षीय कोइरालाको प्रभाव बढाउने कुरामा युवाहरु लागि परेका छन् । उसैगरी, पथरीशनिश्चरे नगरविकास समिति अध्यक्ष पर्शुराम कार्की, कोइरालाकै उमेर दावलीका क्षेत्रीय सभापति गणेश खड्का र हसन्दहका सक्रिय अगुवा महासमिति सदस्य बद्रि निरौला पनि प्रमुखका आकांक्षी देखिएका छन् । खड्कालाई पनि युवाहरुले रुचाएका छन् । तर हसन्दह क्षेत्रमा भनें पार्टी भित्रको आन्तरिक टकरावले खड्काको पक्ष त्यति बलियो नदेखिएको विश्लेषण छ ।
०५४ ताका पार्टीको पथरी गाउँ समिति सचिव भएका र वीचमा पार्टीको क्रियाशिल सदस्यका रुपमा मात्र रहेका कोइराला आफ्नो उम्मेदवारीको सन्दर्भमा भन्छन् ‘स्थानीय सरकार चलाउनका लागि कम्तिमा सुशासनदेखि लिएर कानूनी कुरा जान्न, कानून निर्माण र कार्यान्वयन गर्न सक्ने क्षमता आवश्यक पर्ने भएकाले मैले पनि चाहना गरेका हो ।’ पार्टीको निरन्तर सक्रियताका हिसावले खड्का र निरौलालाई अघि सार्ने एक पक्षको राय समेत बुझिएको छ । उपप्रमुखमा नगर महिला सञ्जालकी संयोजक चन्द्रकला चेम्जोङका साथै त्रिमला राईको नाम चर्चामा आएको छ । तर वडाको उम्मेदवार तय गर्ने क्रममा नगरको प्रमुख र उपप्रमुखको उम्मेदवारका बारेमा औपचारिक छलफलै चलेको छैन । हालसम्म वडा नम्बर ४ मा वडाध्यक्षमा मानबहादुर गुरुङ, ७ नं मणि ताम्लिङ तथा सदस्यहरु समेतको उम्मेदवारको वडामा टुंगो लागेको नगर सचिव दुर्गाप्रसाद भट्टराईले जनाए । दोस्रो ठूलो दल तथा पछिल्लो संविधानसभा निर्वाचनमा यस भेगको २ नम्बर क्षेत्रमा जित हाँसिल गरेको एमाले पक्षले पनि उम्मेदवारको टुंगो लगाएको छैन । नगर प्रमुखका आकांक्षीमा शनिश्चरे गाविस हुँदाका पूर्व अध्यक्ष मोहन न्यौपाने, पथरीका पूर्व अध्यक्ष मोहन तुम्वापो, जिल्ला सचिवालय सदस्य एवम् नगर संयोजक किशोर राई, विदेश विभाग सदस्य युवराज वास्कोटा, जिल्ला सल्लाहकार हसन्दहका पर्शुराम कटुवाल, जिल्ला सचिवालय सदस्य टंक भण्डारी र मोरङ काठमाडौं सम्पर्क मञ्चका टीका गौतम रहेका छन् । यमुना वास्तोला, सरस्वती चौधरी, देवीमाया काफ्ले, फूलमाया तामाङ र दुर्गा दंगाल सहितले उपप्रमुखमा आकांक्षा व्यक्त गरेका छन् । वडा नम्बर ३ को वडाध्यक्ष डम्बर चेम्जोङ, सदस्यमा देवी घिमिरे, गिरिराज पोखरेल, महिला सदस्य माया गुरुङ, दलित महिला सदस्यमा फूलमाया परियारको उम्मेदवारी टुंगो लागेको छ । पथरी बजार क्षेत्रमा पर्ने १ नम्वर वडाको वडाध्यक्षमा सुरेश कार्की, बौद्ध कार्की, धनकुमार तामाङ, बाबुराम एङदेन र भीम राईले इच्छा गरेका छन् । सो वडामा दलित महिला इन्दिरा सुन्दास सर्वसहमत उम्मेदवार बनेकी छन् । अन्य वडामा केही नाम चर्चामा आएपनि कुनै पनि पदका उम्मेदवारको टुंगो लागि सकेको छैन । पार्टीको निर्देशन अनुसार चैत ३० सम्म वडाको र वैशाख ३ सम्म नगर प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाउने हिसावले छलफल चलिरहेको नगर अध्यक्ष रमेश दहालले उल्लेख गरे । वडा नम्बर १० मा गर्जमान राई, ओम उप्रेती र प्रेम ढकाल वडाध्यक्षमा आकांक्षी देखिएका छन् । भौगोलिक हिसावले पनि पछि परेको टोल भन्दै जिरिखिम्ती टोलबाट वडा सदस्यतर्फ एमालेका दलबहादुर थापा, उद्धव विक, लक्ष्मण गुरागार्ई, दीपेन्द्र दहाल र मनबहादुर दहाल आकांक्षी देखिएका छन् । सो टोलबाट कांग्रेका दीपक राईको पनि नाम आएको छ । उता, माओवादी केन्द्रबाट भनें शनिश्चरे गाउँ पञ्चायत हुँदाका उपप्रधानपञ्च जहरमान लिम्बू र उपप्रमुखमा यशोदा गौतमको नाम टुंगो लागेको पार्टीले जनाएको छ । नयाँशक्ति पार्टीबाट नगर प्रमुखमा देवराज भण्डारीको नाम आएको छ । एमालेकातर्फबाट पथरी गाविस अध्यक्ष भइसकेका तिलक बान्तावा र पत्रकार विजय खम्बु नगर प्रमुखको स्वतन्त्र उम्मेदवारका रुपमा आफुलाई घोषणा गर्दै आएका छन् ।