अमेरिकाको एउटा हाईस्कुलका विद्यार्थीहरुले निकाल्ने पत्रिकामा उक्त स्कुलकी प्रिसिन्पलको योग्यतामाथि प्रश्न उठाइएपछि राजीनामा दिएकी छन् ।अमेरिकाको कन्सास पिट्सबर्ग हाई स्कुल (पीएचएस) मा विद्यार्थीहरुले निकाल्ने पत्रिका ‘बुस्टर रिडक्स’ ले नवनियुक्त प्रिंसिपल डा.ऐमी रबर्टसनको योग्यताबारे खोज गरेको थियो । तीन सातासम्मको छानबीनपछि उनीहरुले डा.रबर्टसनको डिग्री आधिकारिक मान्यताप्राप्त नभएको फेला पारे ।अहिले ‘बुस्टर रिडक्स’ का विद्यार्थीहरुको अमेरिकासँगै विश्वका अन्य देशका पत्रकारहरुले समेत प्रशंसा गरिरहेका छन् । छानबीन पिट्सबर्ग बोर्ड अफ एजुकेशनले करिब एक महिनाअघि ६ मार्चमा रबर्टसनलाई वार्षिक तलब ९३ हजार डलर पाउने गरी प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको थियो । तर पत्रिकामा नवनियुक्त प्रिन्सिपलको योग्यतामाथि प्रश्न उठेपछि स्कुल बोर्डको मंगलवार राति बसेको बैठकले डा. रबर्टसनले दिएको राजीनामा स्वीकार गरेको छ ।बोर्डले जारी गरेको विज्ञप्तिमा विद्यार्थीहरुले उठाएको मुद्दाका आधारमा डा. रबर्टसनले आफूले राजीनामा दिनु आफ्नो र बोर्डको हितमा रहेको उल्लेख गरेको जनाइएको छ ।

‘बुस्टर रिडक्स’ कि सम्पादक रहेकी स्कुलकी छात्रा टिना पाल भन्छिन्, “उनी हाम्रो स्कुलकी प्रमुख बन्न लागेकी थिइन्, त्यसैले उनीसँग आवश्यक योग्यता र मान्यता छ / छैन भन्नेमा हामी आश्वस्त हुन चाह्यौं ।” डा. रबर्टसनसँग विद्यार्थीहरुले गरेको टेलिफोन कुराकानीमा उनले केही प्रश्नहरुको अधुरो उत्तर दिएको, केही विषयमा गलत मिति भनेको र गलत बयान दिएको पत्रिकामा उल्लेख छ ।विद्यार्थीहरुको यो टोलीका १७ वर्षीय पत्रकार म्याडी बाडेनले स्थानीय पत्रिका ‘कन्सास सिटी स्टार’ सँग भनेका छन्, “हामी साना विद्यार्थीले यो कुरा पत्ता लगाउन सक्यौं तर, ठूलाहरुले किन यसबारे थाहा पाएनन् रु हामीलाई जान्न मन छ ।” छानबीनमा डा रबर्टसन दुबईको एउटा स्कूलमा प्रिन्सिपल रहेको तर यूएई सरकारले उनको लाइसेन्स सन् २०१३ मा निलम्बन गरेको पत्ता लागेको थियो ।त्यसैगरी डा रबर्टसनले मास्टर र पीएचडी अध्ययन् गरेकोे कार्लिन्स यूनिभर्सिटीलाई अमेरिकी शिक्षा विभागले मान्यता नदिएको र उक्त यूनिभर्सिटीलाई डिग्री बेच्ने गरेको आरोप समेत लागेको पनि विद्यार्थीहरुले उल्लेख गरेका छन् । डा। रबर्टसनले भने आरोप अस्वीकार गर्दै भनेकी छन्, “मैले १९९४ मा कर्लिन्स यूनिभर्सिटीबाट एमए र २०१० मा पीएचडी गर्दा यस्तो कुनै आरोप थिएन, उक्त यूनिभर्सिटीको हालको स्थितिलाई लिएर मेराबारे प्रश्न उठाउन प्रासांगिक हुँदैन ।” विद्यार्थीहरुले उनको योग्यतामाथि प्रश्न उठाएकोमा उनले भनिन्, “पीएचएसका तर्फबाट मेरो योग्यतामाथि प्रश्न उठाइएकोमा म कुनै प्रतिक्रिया दिन चाहन्न, त्यो तथ्यमा आधारित छैन ।”