काठमाडौँ/ विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ ।
महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले बेग्लाबेग्लै आयोजना गरेको कार्यक्रममा वक्ताहरुले हिन्दू संस्था एक हुनुपर्नेमा जोड दिए ।
हाल महासङ्घका दुईवटा राष्ट्रिय समिति क्रियाशील छन् । एउटाको नेतृत्व पूर्वमन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको छ भने अर्कोको नेतृत्व नीलप्रसाद भण्डारीले गरेका छन् । अधिकारी नेतृत्वको समितिले आज आयोजना गरेको कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले धर्मका सन्दर्भमा यसअघि अन्तरिम व्यवस्थापिका–संसद्ले गरेको निर्णयमा कमीकमजोरी भएकाले सच्याइनुपर्नेमा जोड दिए ।
विसं २०६२-६३ को जनआन्दोलनपछि २०६३ जेठ ४ गते अन्तरिम व्यवस्थापिका–संसद्ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको थियो । त्यसको विरोधमा हिन्दूवादी संस्थाले निर्णय सच्याउन माग गर्दै आएका छन् ।
मन्त्री भण्डारीले आन्दोलनको मुद्दा धर्म निरपेक्ष देश नभएकाले एक्कासी ल्याइएको प्रस्तावबिना छलफल ताली बजाएर पारित गरिएकाले सच्याउनुपर्ने बताए ।
कार्यक्रममा अर्को राष्ट्रिय समितिका अध्यक्ष भण्डारीले महासङ्घ एक हुनुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय समितिले आजै बाँसबारीमा आयोजना गरेको स्थापना दिवसको कार्यक्रममा पूर्वमन्त्रीद्वय डा प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टले आफूहरुले गठन गरेको नयाँ दलले हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा उठाउने बताए ।
कार्यक्रममा डा चिन्तामणि योगी, बौद्ध धर्म गुरु फुर्वा लामा, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंह, वरिष्ठ उपाध्यक्ष संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलालगायतका वक्ताले नेपालको हिन्दू पहिचान विश्वमै फरक भएकाले धार्मिक पर्यटकको आकर्षणका लागि पनि मेटाउन नहुनेमा जोड दिएका थिए।
                    
        
                                        
                                                                                                
        































