इस्लामाबाद/ पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

दक्षिणी सिन्ध प्रान्तको केती बागैन क्षेत्रमा गहँुबाली स्याहार्नका लागि जाँदै गरेका मजदुर चढेको डुङ्गा इन्दुस नदीमा दुर्घटना भएको हो ।

उद्धारकर्ताहरुले चार वटा शव निकालेका छन्, भने अरु १६ जनाको खोजी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

डुङ्गा दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुनसकेको छैन । यस वर्ष इन्दुस नदीमा डुङ्गा दुर्घटना भएको यो दोस्रो पटक हो ।

यसअघि गत फेब्रुअरीको सुरुमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको थियो ।

इन्दुस नदीको किनारमा बस्ने बासिन्दाले प्रायःजसो डुङ्गाको प्रयोग गर्ने गर्दछन् ।

सिन्ह्वा