मोकोआ (कोलम्बिया)/ दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् ।

दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराैँ घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ ।

पछिल्लो विवरणअनुसार कम्तीमा २०६ जनाको मृत्यु २०२ जना घाइते र २२० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई आइतबार जानकारी दिए ।

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजीकार्यमा सक्रिय हुन निर्देशन दिएका छन् ।

उनले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गरेका छन् ।

स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले “अकल्पनीय दुःखदायी घटना” भएको बताएका छन् ।

उनले स्थानीय एक रेडियोसँग भनेका छन् , “सयाैँ व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।”

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठुलो बाढी आएको उनको भनाइ छ ।

राष्ट्रपति सान्तोषले त्यो नदिमा केही पहिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरी बसोबास गर्नेलाई सतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताए ।

उनले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । “हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं” उनले भने ।

उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ ।

निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौको मृत्यु हुने गरेको छ । सन् २०११ यता यस पटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् ।

गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिना अगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।

जलबायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसङ्घीय निकायका अधिकारीले बताएका छन् ।

एएफपी