इटहरी/इटहरीको फोहोर व्यवस्थापनको जिम्मा लिएको इन्भारोकेयर कन्सर्न प्रालिले उपमहानगरपालिकासँग झण्डै ९ करोड रुपैयाँ क्षतिपूर्ति माग दावी गर्दै मुख्य चोकको फोहोर उठाउन बन्द गरेको छ ।
प्रशोधन केन्द्र उपलब्ध नगराइएका कारण २०७३ असार मसान्तसम्ममा प्राङ्गारिक मल बिक्रीबाट प्राप्त हुने ६ करोड २४ लाख र कवाडी सङ्कलनबाट प्राप्त हुने १ करोड ७४ लाख ७२ हजार रुपैयाँ क्षति भएको इन्भारोले दावी गरेको छ ।
इन्भारोकेयर कन्सर्नले ग्राहकबाट सङ्कलन गरिने २० रुपैयाँको दरले आउने ९६ लाख रुपैयाँसमेत क्षतिपूर्तिमै दावी गरेको छ । ग्राहकबाट उठ्न बाँकी १ करोड ३४ लाख ४० हजार रुपैयाँसमेत उपमहानगरपालिकाले आवश्यक कारवाही गरी उठाउने व्यवस्था गर्न उपमहानगरपालिकासँग माग गरिएको छ ।
माग पूरा नभए उपमहानगरपालिकाविरुद्ध मुद्दा हाल्ने पनि उसले जनाएको छ ।यसबारे उपमहानगरपालिकासँग कुरा गर्दा बेवास्ता गरिएको कारण अाफुहरूले आन्दोलनस्वरूप मुख्य बजारको फोहोर उठाउन बन्द गरेको इन्भारोकेयरका कृष्ण भट्टराईले बताए ।
२०७० साल असोज ९ गतेदेखि फोहोर उठाउने जिम्मा पाएकोे इन्भारोकेयरमा हाल ४३ जना शेयर सदस्य छन् । ८० जना कर्मचारी राखेर नगरको फोहोर व्यवस्थापन गरिरहेको र मासिक ५ लाख रुपैयाँ घाटा हुने गरेको इन्भारोकेयरका कृष्ण सापकोटाले दावी गरे । माग पूरा नभए एक सातापछि अन्य वार्डको समेत फोहोर नउठाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
फोहोर फ्याक्ने ठाउँ नहुँदा फोहोरबाट निस्कने कवाडीबाट आम्दानी गर्न नसकिएको र कम्पोष्ट मल बनाउन नपाएको कारण त्यसबापतको क्षतिपूर्ति उपमहानगरपालिकाले दिनुपर्ने कम्पनीको माग छ ।
कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी आर्थिक क्षतिको कुरा उपमहानगरपालिका र राजनीतिक दलसँग पटक–पटक राखिए पनि बेवास्ता गरिएकाले बाध्य भएर फोहोर उठाउन बन्द गर्नुपरेको जनाएको छ । यसैगरी सेवाग्राहीबाट ६० रुपैयाँ उठाउँदै आएकोमा तत्कालीन कार्यकारी अधिकृत पशुपति खतिवडाको पालामा ४० रुपैयाँमा झारिएको हुँदा २० रुपैयाँ उपमहानगरपालिकाले दिनुपर्ने पनि कम्पनीको माग छ ।
सम्झौतापत्रमा भने फोहोर व्यवस्थापनका लागि नगरपालिका छँदा मासिक ३ लाख र उपमहागनरपालिका भएपछि थप २ लाख ९० हजार गरी मासिक ५ लाख ९० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।
२०७० सालमा गरिएको सम्झौता पाँच वर्षका लागि हो तर सो रकम विभिन्न शीर्षकमा काटिने गरेको कम्पनीले जनाएको छ ।उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख महेश सुवेदीले भने फोहोर प्रशोधनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएर भौतिक संरचना कम्पनीले निर्माण गर्नुपर्ने सम्झौता भएको बताए ।
सम्झौता नभएका विषयमा समेत नगरपालिकाले सहयोग गरिरहेको उनको भनाइ छ । प्रशोधन केन्द्रका लागि लामो समयसम्म जग्गा नपाएपछि पछिल्लो समय साविक खनारमा केन्द्र निर्माण भइरहेको छ ।
आगामी साउन महिनादेखि सो स्थानमा फोहोर विसर्जन गर्न सकिने गरी काम भइरहेको उनले बताए । सो स्थानमा फोहोरबाट ऊर्जा निकाल्न उपमहानगरपालिकाले सूचना प्रकाशित गरिसकेको छ ।
आएका बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी पेश पनि भइसकेको सुवेदीले जानकारी दिए । फोहोर फाल्ने ठाउँको अभाव हुँदा हाल चारकोशे जङ्गलमा फोहोर फ्याकिदै आएको इन्भारोकेयरका अध्यक्ष मानध्वज मोक्तानले बताए ।
यसअघि उपमहानगरपालिकाले आग्रह गरी विभिन्न व्यक्तिका जग्गामा फोहोर विसर्जन गर्दै आएको थियो । फोहोरमैला व्यवस्थापन ऐन ०६८ ले फोहोरलाई घरमै कम्तीमा कुहिने र नकुहिने छुट्याउनुपर्ने, नगरपालिकाले तोकेको ठाउँ र समयमा फाल्नुपर्ने व्यवस्था छ । तर, यो नियम नगरवासीले पालना गरेका छैनन् ।
‘दैनिक सङ्कलन भएको फोहोर कहाँ लगेर प्mयाँक्ने भन्ने चिन्ता हुन्छ’, अध्यक्ष मोक्तानले भने, ‘ल्यान्डफिल साइट प्रयोग गर्न पाए आम्दानी पनि हुने थियो ।’
इटहरीमामा पछिल्लो एक दशकमा जनसङ्ख्या पनि दोब्बरको हाराहारीमा बढेको छ । त्यससँगै फोहोर उत्पादन बढ्नु स्वाभाविक छ । मुख्य बजार क्षेत्रमा मात्रै दैनिक २० टन फोहर निस्कने तत्कालीन नगरपालिकाको एक अध्ययनले देखाएको थियो ।
चार गाविस समावेश गरी उपमहानगरपालिका बनाइएपछि यहाँको क्षेत्र विस्तार भएको छ । मुख्य बजार र मुख्य चोकबाहेकका स्थानमा अझै पनि सरसफाइ गर्न सकिएको छैन ।