धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी तथा बिरामीका कुरुवाहरुको मोबाइल चोर्ने चोरहरुको विगविगी हुन थालेको छ ।

दुई दिन यता नै प्रतिष्ठान सुरक्षा गार्डहरुले दुईजना चोरहरु पक्राउ परेस“गै प्रतिष्ठानमा चोरको विगविगी हुने गरेको पाइएको हो । सोमबार राति एक बजेतिर प्रतिष्ठानका सुरक्षाकर्मीले कुरुवाको दुईवटा मोबाइल चोरी गर्ने धरान–१९ का सुनिल क्षेत्रलाई पक्राउ गरेको थियो ।
आइसियु मेडिसिन वार्डमा उपचाररत झापा–४ का मनु पौडेल र धरान–१५ का किशन लिम्बूको चार्जमा राखेको सामसुङ मोबाइल चोरी गरेको सुरक्षागार्ड इन्चार्ज दिलीप श्रेष्ठले बताए ।
उनको साथबाट दुईथान मोबाइलसहित क्षेत्रीलाई प्रतिष्ठान प्रहरी पोष्टमार्फत इलाका प्रहरी कार्यालय धरान पठाइएको छ । इप्रका धरानले पनि म्याद थप गरी कारबाही अघि बढाएको छ ।
त्यस्तै बुधबार बिहान साढे ३ बजेतिर आइसियु बेडमै उपचाररत विरामीको कुरुवा विना राईको चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा धरान–१६ का अरुण राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई पनि इप्रका धरान नै बुझाइएको छ । राईलाई पनि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
राईले सुरक्षागार्डमाथि नै खुकुरी प्रहारको प्रयास गरेका थिए । अन्य मानिसहरुलेसमेत नियन्त्रणमा लिएर प्रतिष्ठान प्रहरी पोष्टमा बुझाएको थियो । उनले साथीहरुलाई बोलाएर आक्रमणको प्रयास गरेको प्रतिष्ठान सुरक्षा गार्डहरुले जनाएको छ ।