बिर्तामोड/ बिरिङ खोलामा उत्पन्न उत्खनन् बिवादका कारण व्यवसायी नै विभाजित भएका छन् । एक व्यवसायीले अर्काे व्यवसायीको निर्माण सामग्री नियन्त्रणमा लिन प्रशासनलाई उक्साउनेसम्मको गतिविधि हुन थालेपछि व्यवसायीबीचको बिवाद सतहमा आएको हो । बिरिङ खोलामा उत्पादन हुने खोलाजन्य सामग्री निकासीवापत्को कर सङ्कलन गर्ने ठेक्का पाएका साम्सुहाङ बिल्डर्सका सञ्चालक राजकुमार थापाको उजुरीपछि चैत ११ गत प्रहरीले क्रसर सञ्चालक शेरबहादुर थापाको ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको थियो । अर्काको जग्गामा पहिले नै स्टक गरेर राखेको सामाग्री उठाउँदै गर्दा प्रहरीले शेरबहादुरको पाँचवटा ट्रिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको थियो । ट्रिपर र स्काभेटर थापाले अहिलेसम्म फिर्ता लिएका छैनन् । स्थानीय चन्द्रमाया सेन्चुरीले भनिन्, ‘मेरो जग्गामा पहिलेदेखि नै सामग्री राख्न दिएकी थिएँ । उहाँहरुले खोलाबाट उठाउनुभएको होइन, पहिले नै थुपारेको सामान लैजान खोज्दा पुलिसले गाडी नै लगिदियो ।’ क्रसर व्यवसायी शेरबहादुरले प्रशासनले गैरकानुनीरुपमा आफ्ना निर्माण सामग्री नियन्त्रणमा लिएको आरोप लगाउँदै पक्राउ गर्नुपर्ने कारण प्रष्ट नपारी निर्माण सामग्री फिर्ता नलिने बताएका छन् । प्रहरीले थापाको ट्रिपर र स्काभेटर प्रहरी कार्यालय बुधबारेमा राखेको छ । जिविस र ठेकेदार राजकुमार थापाको मिलोमतोमा स्टक गरिएको खोलाजन्य सामग्री ओसार–पसार गर्दा ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएर दुःख दिएको निर्माण व्यवसायी समेत रहेका जयकाली भगवती रोडा उद्योगका सञ्चालक शेरबहादुरले बताए । उनले त्यो बेला स्टक गरेको खोलाजन्य सामग्री स्टक गरेर कर तिरेको प्रमाण देखाउँदै भने, ‘यो सामग्री हामीले जहिले पनि ढुवानी गर्न सक्छौं, कानुनको दायरा नाघेका छैनौं, ढुवानीमा प्रयोग भएको निर्माण सामग्री नियन्त्रणमा लिनु भनेको कानुन हातमा लिनु हो ।’ उनले जिविसले कानुन हातमा लिएको आरोप लगाए । प्रहरीले नियन्त्रणमा लिएका निर्माण सामग्री शेरबहादुरले फिर्ता लिन नमानेपछि जिविस झापाले जरिवाना रकम प्राप्त गरेको भन्दै ट्रिपर र स्काभेटर फिर्ता लिन उनलाई पत्र दिएको छ । तर, शेरबहादुरले जरिवाना रकम आपूmले जम्मा नगरेको बताएका छन् । उनले गत वर्ष अर्जुनधारा र टिमाइमा खोलाजन्य सामग्री स्टकमा राखेका छन् । कर तिरेर राखेको सामग्री ढुवानीमा अवरोध गरेर जिविसले व्यवसायीमाथि अन्याय गरेको आरोप उनले लगाएका छन् । स्थानीयबासीको विरोधपछि एक साता अघिदेखि विरिङ खोलामा स्काभेटर लगाएर उत्खनन् गर्ने कार्य रोकिएको छ । उत्खनन् रोकिएपछि निर्माण व्यवसायीहरुले समेत विकासका योजनामा प्रभाव पर्ने भन्दै खोला उत्खनन् खुलाउन माग गरेका छन् ।
































