भद्रपुर/झापाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालय व्यवस्थापन समिति र प्रअले शिक्षा कार्यालयले निकासा गरे अनुसारको तलब सहितको सेवा सुविधा नदिएको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।
कक्षा ११ र १२ मा अध्ययापन गराउने दरबन्दीमा रहेका अनुदानका शिक्षकलाई सम्बन्धित विद्यालयले नियुक्त पत्र नदिनुका साथै सेवासुविधा समेत कटौती गरेको भन्दै शिक्षक समूहले मंगलबार जिल्ला शिक्षा कार्यालय झापामा ज्ञापनपत्र बुझाएको हो ।
नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियन र उच्च माध्यमिक शिक्षक एसोशिएसन नेपाल (हिस्टान) ले ६ बुदे मागसहितको ज्ञापनपत्र जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराललाई बुझाएका हुन् ।
शिक्षा कार्यालयबाट निकासा भएको रकम सम्बन्धित शिक्षकले प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्ने, पूर्णकालीन शिक्षक नियुक्त गरी पूर्ण बिषय उपलब्ध गराउनु पर्ने, सामाजिक सुरक्षा कर र पारिश्रमीक कर स्थानीय लेखा नम्बरमा अभिलेख राख्नु पर्ने, निजी स्रोतमा कार्यरत शिक्षकलाई राज्यको तर्फबाट पूर्णकालिन व्यवस्था मिलाउन पहल गरिदिने, कक्षा ११ र १२ का विद्यार्थीलाई राष्ट्रिय खेलकुदमा सामेल गराउनुका साथै कार्यरत शिक्षकलाई तालिममा सहभागी गराउनु पर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पीडित बनेका शिक्षकहरुले शिक्षा कार्यालय समक्ष आफनो माग राखिसकेको र माग पूरा नभएको खण्डमा अख्यितारदेखि शिक्षा विभाग सम्म जाने नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनका अध्यक्ष भीम पोखरेलले बताए ।
सम्बन्धित विद्यालय व्यवस्थापन र प्रअले वेवस्ताका कारण उच्च माविका शिक्षकहरु पीडित बन्नु परेको उनकोे भनाई छ । ज्ञापन पत्रमा ४६ जनाले हस्ताक्षर गरेको उनले बताए ।
ज्ञापन पत्र बुझ्दै विद्यालयमा कार्यरत शिक्षकहरुको माग सम्बोधनका लागि पहल गरिने जिल्ला शिक्षा अधिकारी बरालले बताए । नियुत्तीपत्र नलिएका र शिक्षा कार्यालयबाट पाउने सेवासुविधा नपाएको गुनासाहरुको बिषयमा माध्यमिक विद्यालयसंग जानकारी लिने उनको भनाई छ ।
पीडित बनेका शिक्षकले कक्षा ११ र १२ सञ्चालन हुने झापाका ६० वटा माध्यमिक विद्यालय १ सय २० जना शिक्षक अनुदान स्वरुप दरबन्दीमा रहेका छन् । जसमा १५ देखि २० जना शिक्षकले मात्र ३५ हजार २ सय २० रुपैया तलब बुझेको पाइएको छ ।
अन्य शिक्षकहरुले भौचरमा सही नै नगरी तोकिएको भन्दा कम तलब बुभ्mने र नियुत्तीपत्र समेत नपाएको शिक्षकहरुले गुनासो पोखेका छन् ।