भद्रपुर/सडकको नालामा डुबेर एक बालकको ज्यान गएको छ भने अर्का घाइते भएका छन् । झापाको चाराआली–केचना सडक अन्तरगत रहेको भद्रपुर नगरपालिका १० का १० बर्षिय कुशल निरौलाको पानीमा डुबेर ज्यान गएको छ ।
सोही ठाँउका ७ बर्षिय समिर बजगाई घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा भद्रपुर १० स्थित नमुनाटोल नजिकैको चाआराली केचना सडक निर्माणको लागी खनिएको पूर्व पटटीको नालामा मंगलबार दिउसो दुवै बालक डुबेका थिए ।
पानीमा डुबेको स्थानीयले देखपछि दुवै जनालाई उद्धार गरिएपनि निरौलाको उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।
विदुर बोडिङ्ग हाई स्कूलमा अध्ययनरत मृतक निरौला कक्षा तीन र घाइते बजगाई युकेजीको परिक्षा दिएर घर गएका थिए । घरमा पुगेर खेल्न निस्किएका दुवै जना घर छेऊकै पानी जमेको नालामा डुबेको स्थानीय समिता राईले बताइन् ।निर्माण ठेकेदारको लापरबाहीले बालकको पानीमा डुबेर ज्यान गएको स्थानीयले आरोप लगाएका छन् ।
ठेकेदारले साढे एक फुट नाला खन्नु पर्नेमा नियम मिच्दै ५ देखि १० फुट सम्म नाला खनेर छाडेपछि दुर्घटना निम्तिएको स्थानीयबासी बताउछन् । नाला खनेर छाडेपछि जमेको पानी निकास समेत बन्द भएको छ ।
ठेकेदारले सडकको दुवै पट्टी जथाभावी नाला खनेर छाडेपछि ठाउँ ठाउँमा बर्खाको पानी जमेकोले ठेकेदारले तथा सम्बन्धित निकायले चासो नदेखाउदाको परिणामले बालकको ज्यान गएको स्थानीयले गुनासो गरेका छन् ।