पाँचथर/आगामी वैशाख एक गते उत्तरपूर्वी पाँचथरको चाररातेमा हुन लागेको चौरी महोत्सवमा पाँच सय चौरीको प्रदर्शनी गरिने जनाइएको छ । महोत्सव मूल आयोजक समारोह समितिले मंगलबार फिदिममा पत्रकार सम्मेलन गरेर महोत्वसकै आकर्षणको रुपमा एकैपल्ट पाँच सय चौरी देखाइने जनाएको हो ।
नेपालकै पहिलो चौरी महोत्सवको रुपमा दाबि गरिएको उक्त महोत्सवको अर्को आकर्षण याक राइडिङ र हर्स रेस रहेको मूल समारोह समितिका अध्यक्ष चन्द्रलाल नेपालले बताए ।
याक राइडिङका लागि चार वटा याक तयार गरिने नेपालले बताए । त्यस्तै महोत्सवमा चौरीको दुग्धजन्य पदार्थ र चौरीजन्य परम्परागत सामग्रीहरुको प्रदर्शनी र जैविक विविधता संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम समेत गरिने जनाइएको छ ।
हालसम्म चौरीको दुध मात्र आम्दानिको स्रोत बन्ने गरेको भन्दै चौरी संस्कृतिलाई पर्यटकका लागि आकर्षको माध्यम बनाउँने उदेस्यले महोत्सव गर्न लागिएको हो ।
महोत्सव समुन्द्री सतहदेखि तीन हजार पाँच सय ६० मिटर उचाइको फालेलुङ गाउँपालिका–४, चाररातेमा हुँदैछ । नेपाल–भारत सिमावर्ती पर्यटकीयस्थल सन्दकपुरदेखि छ किलोमिटर उत्तरमा हुन लागेको महोत्सवले सो स्थानको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने मूल समारोह समितिका सदस्य डिल्ली केरुङले बताए ।
एक दिन हुने महोत्सवमा आठ लाख खर्च हुने अनुमान गरिएको छ भने नेपाल–भारतका एक हजार पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवलाई जिल्ला वन कार्यालय, इसिमोड नेपाल, जिल्ला समन्वय समिति, पशुसेवा कार्यालय, मेची–पहाडि पर्यटन प्रबद्र्धन समिति लगायत निकायले सहयोग गरेका छन् ।