धरान/ छ वर्षअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेव साहको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । सोमबारदेखि शुरु हुने पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साहका परिवारलाई विराटनगरमा क्षतिपूर्ति बापत्को चेक हस्तान्तरण गर्ने भएका हुन् । २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट साहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले सिफारिस अस्वीकार गरेको थियो । एसएसबीकै गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई १० लाख दिने सरकारले निर्णय गरेपछि साह हत्याको विषय ब्लाष्टसहितका सञ्चारमाध्यबाट बाहिर आएको थियो । सरकारले विभेद गरेको भन्दै आलोचना भएपछि अहिलेको सरकारले छ वर्षअघि मारिएका साहको परिवारलाई क्षतिपूर्ति दिने भएको हो । स्थानीय तहको चुनावको लागि सुरक्षा व्यवस्थाबारेमा रणनीति बनाउन सोमबारदेखि विराटनगरमा पूर्वाञ्चल सुरक्षा गोष्ठी हुने भएको छ । उपप्रधान तथा गृहमन्त्री निधिले क्षेत्रीय सुरक्षा निकायका प्रमुखहरूलाई निर्वाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिने बताइएको छ । सरकारले बैशाख ३१ गतेलाई स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । ७ सय ४४ तहमा एक चरणमा हुने चुनावमा पूर्वाञ्चल क्षेत्रको सुरक्षा स्थिति, सुरक्षा योजना र त्यसको कार्यान्वयनको लागि रणनीति बनाउन गोष्ठी हुन लागेको हो । यसैबीच, गृहमन्त्री निधि सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि सप्तरी जाने भएका छन् । सप्तरी जाने व्यवस्था मिलाउन गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । केही दिनभित्रै सप्तरीको मलेठ पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँचजनाका परिवारलाई १० लाख रुपैयाँका दरले राहत वितरण गर्ने तयारी थालेका छन् ।