विराटनगर/ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातापत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन वैशाख ३१ गते निर्धारित समयमै हुने र निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्ने बताए ।
प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गरे ।
पत्रकारको जिज्ञासामा उहाँले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘वाक्यांश’ हटाइएको स्पष्ट पारे ।
स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न सकिने हो कि भनी सोधिएको एक प्रश्नमा प्रमुख आयुक्त यादवले छोटो अवधि भएकाले दुईटै निर्वाचन एकैसाथ गर्न नसकिने जानकारी गराए।
निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने उनको भनाइ थियो ।