काठमाडाैं / आगामी वैशाख ३१मा हुने स्थानीय निर्वाचनमा काठमाडौंको मेयर बन्न नेपाली कांग्रेसबाट राजुराज जोशी, नरोत्तम वैद्य र तीर्थराम डंगोलले रूची देखाएका छन्। स्वास्थ्य मन्त्री बन्नुअघिसम्म युवा नेता गगन थापाको नाम मेयरका रूपमा चर्चामा थियो। तर, मन्त्री बनिसकेपछि भने उनले मेयरमा उठ्न अनिच्छा देखाएका छन्।
उनीसहितका सांसदहरूले ‘लिभएबल काठमाडौं’ (बस्नयोग्य काठमाडौं) बनाउन अभियान नै चलाएका थिए। काठमाडौंका सबै सांसदलाई एउटै समूहमा उभ्याएर अभियान अघि बढाउने कामको नेतृत्व पनि गगनले गरेका थिए। तर मन्त्री बनेपछि उनले सोच बदलेका हुन्। उनले भने,‘अब यहाँ (स्वास्थ्य मन्त्रालय) बाटै धेरै काम गर्न सकिन्छ भन्ने लागिरहेको छ।’
राजुराज जोशीले भने कांग्रेसबाट जित्ने र ‘सिनियर’ आकांक्षी भएकाले आफूले टिकट पाउने बताए। उनी उद्योगमन्त्री नविन्द्रराज जोशी निकट हुन्। २०४९ सालदेखि नै आफूलाई मेयर बनाउने भनिएकाले यसपटक टिकट पाउने निश्चित भएको उनले दाबी गरे।
‘२०४९ सालमा मलाई उपमेयर उठ्नु भनिएको थियो तर मैले मेयर नै उठ्ने भनेको थिएँ,’ उनले भने, ‘यसपछि मैले कुनै चुनावमा दाबी पनि गरेको छैन। यसपालि मैले नै टिकट पाउनु पर्ने हो।’
गतवर्ष भएको काठमाडौं जिल्ला समितिको अधिवेशनमा पनि मेयरमा उठ्ने शर्तमा उनले सभापतिबाट नाम फिर्ता लिएका थिए। प्रकाशमान सिंहले मेयरमा टिकट दिने भन्दै उनलाई नाम फिर्ता लिएर सभापति बन्न आग्रह गरेका थिए। जोशीले ठाउँ छोडिदिएपछि सबुज बानियाँ सभापति बनेका हुन्। २०३५ सालमा पब्लिक युथ क्याम्पसबाट राजनीति थालेका जोशी ४० सालपछि जिल्ला कार्यसमिति सभापति बनेका थिए। उनी अहिले महासमिति सदस्य छन्।
‘सिनियर र चुनाव जित्ने सम्भावना भएकाले पनि मैले दाबी गरेको हुँ,’ उनले भने। अर्का आकांक्षी नरोत्तम बैद्यले पार्टीमा लामो समय काम गरेको हुनाले आफूले मेयरको दाबी गरेको बताए। ‘नेपाली कांग्रेसबाट मेयरको आकांक्षीमध्ये म पनि एक हुँ,’ उनले भने। वैद्य पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्षसमेत हुन्।
जोशी र वैद्यसँगै तीर्थराम डंगोलको नाम पनि मेयरको उम्मेद्वारका रूपमा चर्चामा छ। डंगोल २०४३ सालको नगरपञ्चायतका उपमेयर हुन्। उनले २०५६को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट सांसद जितेका थिए। पहिलो संविधान सभा निर्वाचनमा उनी समानुपातिक सभासद बनेका थिए।