काठमाडौं/ स्थानीय तह निर्वाचनको मुखमा एक नयाँ पार्टी घोषणाको तयारी भएको छ । राप्रपा अध्यक्ष कमल थापासँग विद्रोहको घोषणा गरेका वरिष्ठ राजनीतिकर्मी प्रकाशचन्द्र लोहनीले नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । लोहनीले गत फागुन २९ गते कमल थापाविरुद्ध १० बुँदे आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।

विद्रोहसँगै लोहनीले गत वर्ष तत्कालीन कमल थापा नेतृत्वकै राप्रपा नेपालसँग विद्रोह गर्ने केशरबहादुर विष्टसँग मिलेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

दुई पक्षबीच पटक–पटकको छलफलपछि नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने समझदारी भएको दुईपक्षीय वार्तामा निरन्तर सहभागी हुँदै आएका लोहनीपक्षीय एक नेताले लोकान्तरलाई जानकारी दिए ।

लोहनीपक्षीय नेता श्याम तिमल्सिनाले बीचमा कुनै प्राविधिक कठिनाइ नआए आगामी बुधवार नयाँ पार्टीको घोषणा हुने भन्दै त्यसका लागि अहिले लोहनी विधान लेख्ने काममा जुटेको बताए ।

पार्टीको नाम राष्ट्रवादी राप्रपा राख्ने कि अरू नै केही राख्ने भन्नेमा टुंगो लाग्न बाँकी रहेको भएपनि चुनाव चिह्न हलो र एजेण्डा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नै रहनेछ । यस्तै पार्टी घोषणालगत्तै राष्ट्रियता र भ्रष्टाचारविरोधी गतिविधि पनि सञ्चालन गर्ने तयारी थालिएको छ ।

पार्टी अध्यक्ष लोहनी

नयाँ बन्ने पार्टीको अध्यक्ष लोहनी बन्ने समझदारी भएको छ । बिहीवार राजधानीमा बसेको लोहनी र विष्ट पक्षबीचको बैठकले लोहनीलाई अध्यक्ष बनाउने समझदारी बनेको तिमल्सिनाले बताए ।

चुनावकै मुखमा खुल्न लागेको पार्टीलाई निर्वाचन आयोगले दलको हैसियतमा चुनाव लड्न नदिने भएका कारण स्थानीय चुनावमा भाग लिने या नलिने भन्नेमा चाहिँ कुनै निर्णय भएको छैन ।

‘चुनाव बहिष्कार गर्नेसम्मको कुरा उठेको छ, तर अन्तिम निर्णय भने हुन बाँकी रहेको छ’, विष्ट समूहका नेता दमन बस्नेतले भने, ‘यसबारे नेताहरूबीच छलफल गरेर निष्कर्षमा पुगिनेछ ।’

गत वर्षको चैतमा कमल थापाले एजेण्डा मासेको, पार्टीमा मनपरी गरेको, एजेण्डालाई सत्तामा जाने भ–याङ बनाएको लगायतका आरोप लगाउँदै विष्टले विद्रोहको घोषणा गरेका थिए । त्यसलगत्तै पार्टीले फरक मत राखेकै आधारमा उनलाई तीन वर्षे निलम्बनको घोषणा गरेको थियो ।

कारवाहीमा परेसँगै पार्टीका केही केन्द्रीय सदस्य सहितलाई समेत लिएर विष्टले एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान चलाउँदै आएका थिए । लोहनीले पनि कमल थापामाथि विष्टले जस्तै आरोप लगाउँदै र हलो चुनाव चिह्न छोडेकोमा असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिएका थिए ।

केन्द्रीय समिति १७५ सदस्यीय बन्ने

नेताहरूका अनुसार विष्ट पार्टीका वरिष्ठ नेता बन्नेछन् । यस्तै तीन उपाध्यक्ष, चार महामन्त्रीसहित १७१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइनेछ । तर पार्टी घोषणाको क्रममा भने अध्यक्षसहित ५१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरिने सम्भावना रहेको छ ।

नयाँ पार्टीमा विष्टले अभियान चलाएका एकीकृत राष्ट्रवादी शक्तिका नेताहरू, राजतन्त्र र हिन्दूराष्ट्रमा आस्था राख्ने संघसंगठन तथा व्यक्तित्वहरू रहने बताइएको छ ।

यस्तै राप्रपाका हलोमा आस्था राख्ने नेताहरू पनि आउने तर पहिलो चरणमा भने राप्रपाको पहिलो महाधिवेशनबाट निर्वाचित कुनै पनि केन्द्रीय सदस्यको सहभागिता रहने छैन ।

‘पहिलो चरणमा राप्रपाबाट निर्वाचित कसैको पनि सहभागिता रहनेछैन’, तिमल्सिनाले भने, ‘उहाँहरू आउने पक्का छ, तर प्राविधिक कारणले अहिले रोकिनुभएको छ ।’

नयाँ पार्टीको घोषणालगत्तै पार्टीको राष्ट्रिय भेलाको आह्वान गरिनेछ भने सो सँगसँगै देशभर संगठन निर्माणको काम पनि शुरु हुनेछ ।

एकताको चर्चासँगै नेता केशरबहादुर विष्टले वैकल्पिक राष्ट्रवादी शक्ति निर्माणका लागि एकता अपरिहार्य रहेको प्रतिक्रिया दिए ।

यसैबीच एकताअघि विभिन्न प्राविधिक समस्या समाधान गर्नका लागि लोहनी र विष्ट पक्षबाट एक वार्ता समिति गठन गरिएको छ । सो समितिमा लोहनीको पक्षबाट श्याम तिमल्सिना, भरतजंग उप्रेती, केबरराज श्रेष्ठ र झनक प्याकुरेल छन् भने विष्ट समूहबाट ऋषिबाबु परियार, घनश्याम गिरी र श्याम केसी रहेका छन् ।

यसैबीच लोहनीपक्षीय नेता श्याम तिमल्सिनाले नयाँ पार्टी बुधवारभित्र घोषणा गर्ने गरी तयारी भइरहेको भन्दै त्यसका लागि विधान निर्माण लगायतका प्राविधिक तयारी भइरहेको जानकारी दिए ।