काठमाडौं/ साताअघि राप्रपा परित्याग गरेका डा. प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी गठनका लागि भन्दै छलफल तीब्र पारेका छन् । उनले संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र र आर्थिक समृद्धिको प्रमुख एजेण्डासहित नयाँ पार्टी गठनका लागि छलफल तीब्र पार्दै आएका हुन् ।
पार्टी परित्यागसँगै उनले एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान चलाउँदै आएका केशर बहादुर विष्ट समुह, हिन्दु राष्ट्र र राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति तथा संगठनलगायतसँग उनले निरन्तर छलफल गर्दै आएको स्रोतको भनाई छ । सोहि क्रममा उनले बिहिबार विष्ट समुहसँग यहि सातासम्ममा नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने लगभग समझदारी गरेको उनका सहयोगी सुन्दर पाण्डेले जानकारी दिए । लोहनी र आफूहरुबीच नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने समझदारी भएको तर नेतृत्व कसको हुने र पार्टीको नाम के हुने भन्नेमा अन्तिम टुंगो लाग्न बाँकी रहेको एकीकृत राष्ट्रवादी अभियानका प्रवक्ता दमन बस्नेतले जानकारी दिए । उनका अनुसार एजेण्डा भने संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हुनेमा एकमतता रहेको छ । पार्टीको चुनाव चिन्ह हलो नै राख्ने लगभग समझदारी भएको तर आगामी स्थानीय तह चुनावमा भाग लिने या नलिने भन्नेमा भने नेताहरुबीच विवाद रहेको बुझिएको छ ।
यसैबीच लोहनी पक्षीय नेता श्याम तिमल्सिनाले नयाँ पार्टी बुधबारभित्र घोषणा गर्ने गरी तयारी भइरहेको भन्दै त्यसका लागि विधान निर्माण लगायतका प्राविधिक तयारी भइरहेको जानकारी दिए ।