काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटी प्रदेशको सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच भएको भेटवार्तामा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर छलफल भएको थियो । आजदेखि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले छिमेकीलाई दलबीच सहमति भएको सकारात्मक सन्देश सुनाउन चाहेको कुरा पनि बैठकमा राखेकाे प्रतिपक्षले यसलाई थप छलफलको आवश्यकता औँल्याएको थियो ।

पहिलो चरणमा यादवसँग छुट्टै छलफल गरेका प्रधानमन्त्रीले दोस्रो चरणमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष वामदेव गौतम तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए । दोस्रो चरणको छलफलपछि नेता गौतमले प्रधानमन्त्रीले सीमाङ्कनबाहेक अरू विषयमा सहमति गरौँ भनेर प्रस्ताव राखेकाे जानकारी दिए ।