धरान/नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरितका कार्यहरु तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार अपराह्न अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहिता समेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति गम्भीर ध्यानाकर्र्षण जनाउँदै यस्ता कार्यहरु तत्काल रोक्न माग गरेको हो ।

यस्ता छन् एमाले स्थायी समितिका ४ निर्णयः

१. निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै बैठकले २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको छ । साथै, निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ । २. स्थानीय तह निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहिता समेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकारस“ग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ । ३. बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दिदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय गरेको छ । ४. बैठकले यही चैत ५ गते नेकपा (एमाले) का तर्फबाट व्यवस्थापिका संसद सदस्य कमरेड दुलारी देवी सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकोमा चिन्ता व्यक्त गरेको छ । उहाको उपचारको लागि पार्टीले सम्पूर्ण पहल गर्नेछ । साथै, उहाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । त्यहीक्रममा दुःखद् निधन भएका मोटरसाइकल चालक रविन्द्र साहप्रति हार्दिक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।