काठमाडौं/हिन्दु राष्ट्र र राजतन्त्रलाई विधानबाट निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग विरुद्ध आन्दोलनमा उत्रिएको राप्रपा नेपाल र प्रहरीबीच झडप भएको छ ।
सोमबार रत्नपार्कमा भेलाभई निर्वाचन आयोगको कार्यालय कान्तिपथ तर्फ अघि बढेको जुलुसलाई रोक्न खोज्ने प्रहरी र राप्रपा कार्यकर्ताबीच झडप भएको छ ।
सरकारका उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष कमल थापा प्रहरीसँग झडप भएको समयमा उपस्थित नभएपनि झडपसकिएसँगै आइपुगेका छन् । उनीसहित वरिष्ठ नेता पशुपति शमशेर लगायतका नेता सडकमा धर्नामा बसेका छन् ।
प्रहरीको लाठी प्रहारबाट दर्जन बढी राप्रपाका कार्यकर्ता घाइते भएका छन् । उता आन्दोलनकारीको ढुंगाप्रहारबाट केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।