भद्रपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति झापाले सोमबार झापाको भद्रपुरमा विरोध प्रदर्शन गर्दै निर्वाचन कार्यालय घेराउ गरेको छ ।
निर्वाचन आयोगको असवैधानिक निर्णयको विरुद्ध पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार राप्रपाले विरोध प्रदर्शन गर्दै निर्वाचन कार्यालय घेराउ गरेको हो ।
राजतन्त्र सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्र कायम गर, निर्वाचन नचाहने षड्यन्त्रकारी होशियार लगायतको नारा लगाउदै चन्द्रगढी बजार परिक्रममा गरी निर्वाचन कार्यालय एक घण्टा घेराउ गरेका थिए ।
कार्यालय घेराउ पश्चात राप्रपा झापाका अध्यक्ष अम्बरबहादुर विष्ट लगायतको टोलीले जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।
आयोगले पार्टीको विधान परिर्वतन गरेको निर्णय पुर्नविचार गर्न माग राख्दै निर्वाचन कार्यालय झापामा मार्फत आयोगलाई ध्यानअकर्षण गराएको हो ।
यता विरोध सभालाई संम्वोधन गर्दै पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नो पार्टीको विधानवाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र सनातन हिन्दूराष्ट्र भन्ने वाक्य हटाउने अधिकार नरहेको भन्दै तत्काल निर्णय सच्याउन माग गरे ।
गल्ती गरेको निर्णय आयोगले नसच्याएमा सडक, सदन र सत्ता गरी तिन वटै निकायमा आफ्नो पार्टीले देश व्यापी रुपमा संर्घषसहितको कडा भन्दा कडा आन्दोलन गर्ने बताए । आयोगले पार्टीको निर्णयको विपक्षमा गएर चुनावमा जान खोजे कुनै पनि हालतमा हुन नदिने उनले चेतावनी दिए ।
अलोचनात्मक रुपमा मात्र आफ्नो पार्टीले संविधानलाई स्वीकार गरेको भन्दै राजा सहितको संवैधानीक हिन्दू राष्ट्र लाई आफ्नो पार्टीले नछोडेको उनले स्पष्ट पारे ।
त्यसैगरी पार्टीका केन्द्रिय सदस्य भक्ति सिटौलाले माओवादी र काँग्रेसले देशी विदेशी शक्तिका कारण निर्वाचन गर्न नचाहेको आरोप लगाए। प्रजातन्त्र संस्थागत गर्न निर्वाचन अपहार्य रहेको वताउदै निर्वाचन गर्न कै लागि आफ्नो पार्टी सरकारमा गएको प्रस्ट पारे ।