काठमाडौँ/ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका  छन्।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने— “विश्वका अरु मुलुकभन्दा नेपाल पछाडि पर्नुमा नेपालीत्वको मानसिकता कमजोर भई पार्टीगत पक्षधरता हाबी हुनु हो ।”

मन्त्री कार्कीले भने – “गणतन्त्र नेपालमा जनताका अपेक्षा धेरै छन्, तिनलाई पूरा गराउने राज्यको पहल जारी रहनेछ, यसमा पत्रकारिता क्षेत्रको पनि भूमिका उत्तिकै आवश्यक छ, नकारात्मक र राजनीतिक हाबीमा भन्दा सकारात्मक र जनताका हितका समाचार लेखेर राष्ट्रलाई योगदान हुन सक्छ ।”

पत्रकारको न्यूनतम पारिश्रमिक कानुन बमोजिम उपलब्ध गराउन सञ्चारगृहलाई ध्यानाकर्षण गराएको बताउँदै उनले त्यसो भएमा सरकारले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने स्पष्ट पारे ।

सो अवसरमा महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारका मुद्दामा आफूहरुले निरन्तर आवाज उठाएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए।

शाखाका अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक सचिन रोका, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले अधिवेशन सफलताको कामना गरे । शाखाको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।