काठमाडौं / भारत नेपालमा स्थानीय निर्वाचन चाहँदैन भन्ने काठमाडौंमा राजनीतिक हल्ला चलिरहँदा भारतीय नेता र बुद्धिजीवीहरूले भने एक स्वरमा तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरूसँगको भेटमा भारतीय नेता र बुद्धिजीवीहरूले स्थानीय चुनाव गर्नुपर्ने बताएका हुन् ।

तराई मधेसमा निर्वाचनको वातावरण छैन भन्ने मधेसकेन्द्रित दलका सांसदलाई भारतीय नेता तथा बुद्धिजीवीले चुनावमा गएर शक्ति आर्जन गर्न सुझाव दिएका हुन् ।

भारतीय गृहमन्त्री राजनाथ सिंह, भाजपा महासचिव राम माधव, नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनि लगायतले निर्वाचनले मात्र नेपालको लोकतन्त्र बलियो बनाउने बताएका थिए । उनीहरूले दुई दशकसम्म रिक्त रहेको स्थानीय सरकारको निर्वाचन हुनु महत्त्वपूर्ण हुने बताएका थिए ।

नेपालको संसदीय टोलीसँग मार्च ७ मा भएको भेटवार्तामा भारतीय गृहमन्त्री सिंहले तोकिएको समयमै निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

संसदीय टोलीका केही सदस्यले तराई मधेसमा निर्वाचन हुने वातावरण नभएको बताएका थिए । भारतीय नेताहरूले ‘निर्वाचन नगरेर कसरी लोकतन्त्र बलियो हुन्छ ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

उनीहरूले चुनावलाई सदुपयोग गरेर बलियो बन्न मधेसकेन्द्रित दललाई सुझाव दिएका थिए । चुनावको विरोधमा भन्दा तयारीमा जुट्नु मधेसी दलका लागि हितकर हुने भारतीय नेताहरूको भनाइ थियो ।

गाैतमलार्इ राष्ट्रिय सम्मान, साहलार्इ न सम्मान न क्षतिपूर्ती