काठमाडौ । भारतीय सत्तारुढ दलको निमन्त्रणमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र गृहमन्त्री विमलेन्द्र निधि भारत जाने भएका छन् । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपालका गोविन्द गौतमको हत्या भएपछि नेपालभर भारतको विरोध भइहरेको छ । नागरिक र राजनीतिक दलहरुबाट भारतको चौतफी विरोध भइरहेका बेला भट्टराई र निधि भारतीय सत्तारुढ दल जनता पार्टीको निमन्त्रणमा दिल्ली जान लागेका हुन् ।
भारतीय जनता पार्टीका नेताहरुले आतंकबाट र छिमेकी देशसँगको सम्बन्धका बिषयमा गोष्ठी आयोजना गरेका छन् । भारतीय थिडक ट्यांकहरुले आयोजना गरेको कार्यक्रममा निधिले आतंकबाटका बिषयमा आफ्नो धारणा राख्ने भएका छन् भने भट्टराईले अन्तरदेशिय सम्बन्धका बारेमा मुख्य बक्ताको भूमिका निर्वाह गर्ने भएका छन् ।
कार्यक्रम सकिए लगतै उपप्रधानमन्त्री समेत रहेका निधिले भारतीय सत्ता गठबन्धनका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्म स्वराज, गृहमन्त्री राजनाथ सिंह लगाएतलाई भेटने कार्यक्रम रहेको स्रोतले बताएको छ । निधि आफ्नो ७ महिने कार्यकालमा चार पटक भारत पुगिसकेका छन् । भारतीय नेताहरुलाई भेटाउन दिल्लीस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । भेटको उदेश्य भने अझै सरकारले खुलाएको छैन ।
निधिले मधेसी मोर्चाको भूमिका र एमालेले भारतीय शासनबिरुद्ध बोलेका कुरालाई मुख्य बिषय बनाउने आशंका गरिएको छ । भ्रमण भारतीय नेताहरुसँगको गोप्य भेटवार्ता भएपनि बाहिर देखाउन भने आतंकबादीबिरुद्धको कार्यक्रम राखिएको छ ।
त्यसैगरी भट्टराईले पनि भारतीय नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । एउटै कार्यक्रम बनाएर दिल्ली पुग्न लागेका भट्टराई र निधि भने एउटै दिन दिल्ली नपुग्ने भएका छन् । दिल्लीमा भारतीय नेताहरुसँग भेटपनि छुट्टा छुट्टै गर्ने भएका छन् । निधि सोमबार दिल्ली प्रस्थान गर्दैछन् भने भट्टराई मंगलबार पुग्ने भएका छन् ।