उर्लाबारी / स्वतन्त्रता र मानव अधिकार खोज्दा आफ्नो देशका साशकले देशै निकाला गरेका भूटानी शरणार्थीहरुलाई यसबेला प्रकृतिले समेत उसैगरी प्रहार गरेको छ ।
हावा पानीसँगै परेको असिनाले मोरङको पथरीशनिश्चरे शिविरमा रहेका हजारौं भूटानी शरणार्थीलाई विचल्ली बनाएर देशबिहीनताको नियतिमाथि थप पीडा दिएको छ । गएराती असिना पानीसँगै आएको हावाहुरीले शरणार्थीहरुको प्लाष्टिक र चित्राको छानो भत्काएपछि उनीहरु रातभर भिजेर अनिदो वस्न वाध्य भए । हावाहुरीले चित्राको बेरा भएका छाप्राहरुमा पूर्ण रुपमा पानी पसेको छ ।
सो शिविरका कुल ६ सय ५० छाप्रामध्ये हावाहुरी र असिनापानीले २ सय ४५ छाप्राका छानो उडाएर क्षति पुगेको छ । जसमध्ये १८ वटा पूर्ण रुपमा नष्ट भएका छन् । लत्ताकपडा र खाद्यान्ह भिजेका छन् । त्यहाँको विद्यालयमा पनि क्षति पुगेकाले आजको आधा समयको पढाई समेत हुन नसकेको शिविर सचिव चम्पासिंह राईले बताए ।
शिविर भित्रको एलडब्लुएफ, वीआरसीएफ, टीपीसी कार्यालयमा समेत क्षति पुगेको छ । क्षति पुगेका २ सय ४५ छाप्राका लागि युएनएचसीआरको सहयोगमा लुथरन विश्व फेडेरेशनले आज छानोका लागि प्लाष्टिक वितरण गरेको छ । हावाहुरी नआई पानी मात्र परेकाले झापाको दमकस्थित बेलडाँगी शिविरतर्फ भनें खास क्षति नभएको बुझिएको छ ।
हावा हावाहुरी र असिनापानीले पथरीशनिश्चरे १० जिरिखिम्तीका मृगौला पिडीत गोरेबहादुर दर्जीको घरको छाना उडाएर थप पीडा दिएको छ । त्यहीका झमक भट्टराईको ब्रोइलर जातका ३ सय वटा चल्ला मरेर ३० हजार रुपैयाँ बढीको क्षति भएको छ ।
पथरीशनिश्चरे १ को पथरी बजारमा जारी पथरी महोत्सवस्थलको बेरा सम्पूर्ण रुपमा भत्किएको छ । महोत्सवको प्रचारका क्रममा निर्माण गरिएका गेट ढलेका छन् । छाप्रे घरहरु पूर्ण रुपमा प्रभावित भएको अवस्थामा पक्का र व्यवस्थित घरहरुमा पनि अपत्यारिलो लाग्ने झैं गरेर असिना पानी पसी क्षति पुर्याएको देखिएको छ ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको घरको छानो उडाएको छ । पथरी बजारका टहराहरुमा समेत क्षति पुगेको छ । पसलहरुमा पानी पसेर सामानमा क्षति पुगेको छ । केरौन १ को यमबहादुर गुरुङ्गको टाँडे घर छानो उडाएर क्षति पुर्याएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
ठाउँ ठाउँ पोल लडेकाले विद्युत आपूर्ति तत्काल सहज नहुने अवस्थामा पुगेको छ । असिनाले चुटेर मकै, गहुँ लगायतका अन्नबाली, तरकारी तथा फलफुलमा क्षति पुगेको छ । जंगलमा रुखहरु समेत ढलेका छन् ।