काठमाडौं / सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका छन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबारै भारतीय समकक्षी सुष्मा स्वराजलाई टेलिफोन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबारै भारतीय कार्यबाहक राजदूतलाई लिखित कूटनीतिक नोट हस्तान्तरण गरेको छ । सबै तहको कुराकानीमा भारतीय अधिकारीले मृतकको पोस्टमार्टम रिपोर्ट मागेका छन् । सरकारले संसद्मा घटनाबारे जानकारी दिएको छ भने मृतकलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको  छ ।

महत–स्वराज फोनवार्ता : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई टेलिफोन गरेर गोली भारतीय प्रहरीले चलाएको विषयमा भारत सरकारका तर्फबाट अहिलेसम्म पनि धारणा नआएकोप्रति ध्यानाकर्षण गराएका छन् । ‘घटनाको छानबिन गरी यसमा संलग्न दोषीमाथि कारबाही गर्नुस् र आइन्दा यस्ता घटना हुन नदिन सावधानी अपनाउनुस् भनेको छु,’ परराष्ट्रमन्त्री महतले नयाँ पत्रिकासँग भने, ‘विदेशमन्त्री स्वराजले गम्भीरता व्यक्त गर्नुभएको छ र छानबिनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको भन्नुभएको छ ।’

भारतलाई औपचारिक कूटनीतिक नोट : परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यबाहक राजदूत विनय कुमारलाई शुक्रबार बिहान परराष्ट्र मन्त्रालय सिंहदरबारमा बोलाएर सरकारका तर्फबाट कूटनीतिक नोट हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रेस तथा जनसम्पर्क संयोजक एकराज पाठकका अनुसार कूटनीतिक नोटमा घटनाबारे नेपाल सरकारले निन्दा गरेको र घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । ‘कूटनीतिक नोटमा उक्त सीमा क्षेत्रमा आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह पनि गरिएको छ,’ पाठकले भने । भारतीय दूतावासका अनुसार कार्यबाहक राजदूत विनय कुमारले सीमावर्ती लखिमपुर खेरी जिल्ला प्रशासनलाई घटनाबारे जाँचबुझका लागि भारत सरकारले निर्देशन दिएको जानकारी दिएका थिए । ‘जाँचबुझ प्रक्रियालाई सहज बनाउन नेपालबाट मृतकको पोस्टमार्टम रिपोर्ट उपलब्ध गराउन भनिएको छ,’ दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘दुवैतर्फका जिल्ला प्रशासनबीच नियमित संवाद र सम्पर्क हुनुपर्ने र सीमा क्षेत्रको शान्ति–सुरक्षा सुनिश्चित हुनुपर्नेमा कार्यबाहक राजदूतले जोड दिनुभएको छ ।’

‘साउथ ब्लक’मा ध्यानाकर्षण : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँदिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयमा गएर घटनाबारे नेपालको ध्यानाकर्षणपत्र बुझाएका छन् । उनले नेपाल र भुटान हेर्ने सहसचिव सुधाकर दलेलालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत उपाध्यायले यसबारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री डा. महतलाई टेलिफोनमा जानकारीसमेत गराएका छन् ।

आफन्तले शव बुझेनन्

गौतमलाई सहिद घोषणा गरिए पनि मृतकका आफन्तले भने सरकारी निर्णय उल्लेख लिखित पत्र नपाउँदासम्म शव नबुझ्ने अडान राखेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारी निर्णयको लिखित पत्रका लागि गृह मन्त्रालयसँग आग्रह गरिएको बताए । आफन्तले नमानेकै कारण गौतमको शव पोस्टमार्टम हुनसकेको छैन । उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।

नापी टोली धनगढीमा

कैलाली घटनापछि नापी विभागले आनन्दबजारमा निर्माण गरिएको कल्भर्ट सर्भेका लागि विभागका उपसचिव कृष्ण सापकोटा नेतृत्वको दुई सदस्यीय टोली घटनास्थल पठाएको छ । टोलीलाई कल्भर्ट भएको स्थान भारत वा नेपाल कता पर्छ भनेर जानकारी दिन निर्देशन दिइएको छ । माेदीद्वारा दुःख व्यक्त भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दुई दिनको कूटनीतिक पहल