कैलाली / कैलालीको भजनी त्रिशक्ती नगरपालिका वडा नम्बर ४ ठेकिपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी चौकी जनकपुर तर्फ जाँदै गरेको से ४ प ७१६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाजुराको वाई गाविस-३ घर भै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान अशोक शाही र बाजुराको वाई गाविस-१ घर भै हाल टीकापुर बस्ने हिराबहादुर सिंहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले दिएको जानकारी अनुसार सिंहको घटनास्थलमै र शाहीको प्राथमिक स्वास्थ्य चौकी भजनीमा गएराति करिब सवा १२ बजेतिर मृत्यु भएको हो ।

उनीहरु दुबैजना इलाका प्रहरी कार्यालय भजनीको काम सकेर प्रहरी चौकी जनकपुरतर्फ गैरहेको बेला मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । आफन्तहरु आउनेवित्तिकै पोष्टमार्टम गरी सतगतका लागि जिम्मा लगाउने प्रहरी नायव उपरिक्षक बुढामगरले बताए ।