विराटनगर/भारतबाट अवैधरुपमा कुखुरा तथा चल्ला आयातमा कडाई गरेको भनिएपनि तस्करी भएर कुखुरा आयात रोकिएको छैन । भारतबाट कुखुरा आउँदा यहाँका उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।

भारतबाट आयात गरेर नेपाली बजारमा ल्याउँदै गरेको करिव एक टन कुखुरा प्रहरीले सोमवार राती नियन्त्रणमा लिएको छ । नेपाली किसानहरुले दिएको सूचनाका आधारमा प्रहरीले विराटनगर हाटखोलाबाट नियन्त्रणमा लिएको हो ।

भारतीय किसानले पालेको कुखुरा सीमावर्ती गाविस मझारेमा संकलन गरी विराटनगरको बजारमा बिक्री गर्न ल्याउने गरेको खुलेको छ । मनिष मण्डलले सीमा क्षेत्रमा स्थापना गरेको कुखुरा फर्ममा चल्ला देखिदैन तर उनी दिन दिनै करिव एक हजारको संख्यामा वयस्क कुखुरा बिक्री गर्दछन् । उनले विराटनगरमा खोलेको विराट फ्रेस हाउस मार्फत कुखुरा बिक्री गर्ने गरेका छन् भने बाँकी धेरै फ्रेस हाउसलाई कुखुरा उपलव्ध गराउने गरेका छन् ।

हाटखोला स्थित वडा प्रहरी कार्यालय ख ले कुखुरा लोड भएको पिकअप भ्यान नियन्त्रणमा लिएको हो । को २ च ६३ नम्वरको भ्यानमा कुखुरा ल्याइदै गरेको थियो ।

नेपाली कुखुरापालक किसानहरु उचित मूल्य नपाएर नोक्सान बेहोर्न वाध्य भइरहेको गुनासो किसानहरुले गरेका छन् । अहिले किसानहरुले प्रतिकेजि १ सय ८० रुपैंयाको दरले कुखुरा बिक्री गर्न वाध्य भएका छन् । बजारमा कुखुराको मासु प्रति किलो ३ सय रुपैंया रहेको छ । भारतीय कुखुरा आयात नहुने हो भने नेपाली किसानले २ सय २० रुपैंयासम्म मुल्य पाउने अवस्था रहेको किसान बलराम थापाले बताए ।

वर्ड फ्लु संक्रमण हुने आशंकामा भारत लगायत विदेशबाट कुखुरा, बंगुर लगायतका वस्तु आयातमा सरकारले रोक लगाएको भएपनि तस्करीको माध्यमबाट ठूलो परिमाणमा भित्रिने क्रम भने रोकिएको छैन । क्वारेन्टाइन जाँच पछि मात्र आयात अनुमति दिने यस्ता वस्तु तस्करीबाट आउन थालेपछि रोगको संक्रमण फैलिने त्रास पनि बढेको छ ।